डिआइजीको संख्या थप गर्ने तयारी, बढुवाको लाइनमा को–को ?

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) थप गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार ५ जना डिआईजी थप गर्ने विषयमा प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रामबहादुर थापाबीच सहमति भएको छ ।

प्रहरीमा हाल १४ जनाको डिआइजी छन् । पाँच डिआइजी थप गरेर १९ पुर्‍याउने तयारी गृहमन्त्री थापाले गरेका हुन् । गृहमन्त्री थापाले चैतमा डिआइजीको संख्या घटाएर १४ बनाएका थिए ।

तत्कालीन प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले त्यस बेला डिआइजीको संख्या कटौती गर्ने कार्यको विरोध गरेका थिए । त्यस बेला संख्या कटौती गरेकोमा गृह सचिव महेश्वर न्यौपाने र ज्ञवालीबीच भनाभन भएको थियो ।

नेपाल प्रहरीतर्फ डिआइजीले नेतृत्व गर्ने कार्यविभाग, अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका, लागुऔषध, मानव बेचबिखन, साइबर ब्युरोलगायतका विभाग नेतृत्वविहीन छन् ।

दरबन्दी कटौती हँुदा वरीयतामा अगाडि रहेका धनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी डिआइजीमा बढुवा भएका थिए ।

डिआइजीको संख्या बढाउने तयारी भएपछि एसएसपीहरू पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलिप चौधरी, श्याम ज्ञवाली, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा, दिवेश लोहनी, मुकुन्द आचार्य, सुशील यादव, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नलप्रसाद उपाध्याय, विक्रम चन्द, मसाउद आलम खाँसहितका एसएसपीहरू बढुवाको लाइनमा छन् ।

Published : Sunday, 2020 August 23, 7:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया