सरकार सञ्चालन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बन्ने, केही मन्त्री र मुख्यमन्त्री फेर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद मिलाउन सरकारलाई सञ्चालन र निर्देशन दिनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी भएको छ ।

नेकपाका नेता हरिबोल गजुरेलले शनिबार बिहान एउटा रेडियोसँगको अन्तर्वार्तामा सरकार सञ्चालनमा सुझाव दिन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी भएको बताए । उनले संयन्त्रको संयोजक को ? बन्ने भन्नेबारेमा टुंगो नलागेको बताएका छन् ।

विवाद मिलाउन केही मन्त्री र मुख्यमन्त्रीहरूलाई हटाएर नयाँलाई अबसर दिने विषयमा पनि कुराकानी भइरहेको उनले बताएका छन् । गजुरेलले विश्वासको वातावरण बन्यो भने मन्त्री र मुख्यमन्त्रीहरू नहट्न पनि सक्ने बताए ।

आफू सुरुदेखि नै प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने मान्यताका विपक्षमा रहेको गजुरेलले बताए । ‘ओलीजीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने मान्यताको म विरोधी हुँ’, उनले भने, ‘विवाद मिल्छ । कुरा भइरहेको छ ।’

Published : Saturday, 2020 August 22, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया