कांग्रेस नेता एवम् मेयर पराजुलीले जनता बचाउन दिए योगदान, ओली र राईले पाठ सिक्नुपर्ने

विराटनगर । नेपाली कांग्रेसका युवा नेता समेत रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोनाभाइरसको नमूना परीक्षणका लागि मेसिन खरिद गर्न एक वर्षको तलव उपलब्ध गराएका छन् ।

विराटनगरमा समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएको छ । महानगरवासीको नमूना परीक्षणको दायरा फराकिलो बनाउन मेयर पराजुलीले व्यक्तिगत रुपमै पहल शुरु गरेका हुन् ।

कोसी अञ्चल अस्पतालमा एउटा मात्रै पीसीआर मेसिन छ । यो मेसिनले थेग्न नसक्ने भएपछि मेयर पराजुलीले अर्को मेसिन किनेर परीक्षण बढाएर महानगरबासीको जीवन बचाउने अभियान थालेका हुन् ।

केन्द्र सरकार र प्रदेश सरकारसँग कोरोना परीक्षणको पीसीआर मेसिन नदिएपछि मेयर पराजुलीले जनताको जीवन बचाउन मेसिन खरिद गर्न लागेका हुन् । मेसिन शुक्रबार साँझसम्म विराटनगर आइपुग्नेछ ।

नेकपाका नेता समेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गम्भीर बन्न र पीसीआर मेसिन खरिदका लागि महानगरबासीले पटक–पटक अनुरोध गरेका छन् । तर, राईले मागको सुनुवाइ नै गरेका छैनन् । केन्द्र सरकारका नेकपाका अध्यक्ष समेत रहेका खड्गप्रसाद ओली प्रधानमन्त्री छन् ।

ओली पनि पीसीआर मेसिन विराटनगर महानगरलाई दिन रुचि नदेखाएको आरोप छ ।

विराटनगरमा कोभिड–१९ उपचारका लागि ‘ए’ लेबलको अस्पताल छैन ।

सरकारीस्तरमा कतैबाट सहयोग नभएपछि पीसीआर मेसिन खरिदका लागि मेयर पराजुलीले आफ्नो एक वर्षको तलब र भत्ताबापतको पाँच लाख रुपियाँ उपलब्ध गराएका छन् ।

पराजुलीले केन्द्र सरकार र प्रदेश सरकारले पीसीआर मेसिनमा कुनै सहयोग नगरेपछि आफूहरू मिलेर काम गरेको बताएका छन् ।

पीसीआर मेसिनको उपकरण खरिदका ३० लाख जम्मा भइसकेको छ । मेसिनको मूल्य करीव ३१ लाख पर्छ । मेसिन खरिदको जिम्मेवारी व्यवसायी प्रदीप मुरारकाले पाएका छन् । मेसिनको गुणस्तर परीक्षण गर्न कोशी अञ्चल अस्पतालका डा.कामना शर्मा र सुशील तापडियालाई दिइएको छ ।

विरानगरमा कोरोनाको परीक्षणको रिपोर्ट लिन पाँच–छ दिनसम्म कुर्नुपर्ने बाध्यता छ । नयाँ मेसिन थपिने वित्तिकै रिपोर्ट छिटो आउनेछ । दायरा पनि बढ्नेछ । नयाँ मेसिनलाई कोशी अञ्चल अस्पतालमा नै राखिनेछ ।

मेयर पराजुलीको अभियानमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले पनि एक लाख रुपियाँ दिएर सहयोग गरेका छन् ।

पीसीआर मेसिन खरिद गर्न व्यवसायीहरू राजेन्द्र राउतले ७ लाख, प्रदीप मुरारकाले ५ लाख, भीम घिमिरेले एक लाख दिएका छन् भने तुलसीराम अग्रवाल पाँच लाख र गोल्छा हाउसले पाँच सहयोग गरेका छन् । मोरङ व्यापार संघले सात लाख रुपियाँ दिएको छ । उद्योग संगठन मोरङले १४ लाख रुपियाँ दिने घोषणा गरेको छ ।

मेयर पराजुलीले थप आर्थिक सहयोग जुटाएर आरएन एक्ट्राक्सन उपकरण किन्ने योजना छ । ३० देखि ५० लाखसम्म पर्ने यो मेसिनले स्याम्पलिङ छिटो गर्ने हुँदा परीक्षण बढ्नेछ ।

विराटनगरमा कोरोनाबाट सात जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ७४५ पुगेको छ । विराटनगर आइसोलेसन बेड र भेन्टिलेटरको पनि अभाव छ ।

Published : Friday, 2020 August 21, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया