बालुवाटार–खुमलटारमाथि माधव समूहको शानदार जित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शीर्ष नेताहरूका बीच देखिएको विवाद समाधान गर्न गठित कार्यदललाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले ६ सदस्यीय कार्यदललाई अनुमोदन गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदललाई अनुमोदन गरेको बताए । उनले सो कार्यदलले छिटोभन्दा छिटो जिम्मेवारी पूरा गर्ने बताए ।

प्रधानमन्त्री समेत रहेका केपी ओली र पुष्पकमल दाहालले पार्टीभित्रको विवाद समाधान गर्न सुझाव दिने गरी कार्यदल बनाएका थिए ।

वरिष्ठ नेता माधव नेपाललगायतको समूहले कार्यदललाई सचिवालय बैठकबाट बैधानिकता दिनुपर्ने माग राखेका थिए । उनको मागअनुसार सचिवालयले कार्यदललाई अनुमोदन गरेर बैधानिकता दिएको छ ।

नेता नेपाल समूहको मागका विषयमा सचिवालयमा छलफल हुनुका साथै कार्यदललाई अनुमोदन गरेपछि बालुवाटार र खुमलटारको सांकेतिक हार भएको चर्चा नेकपाभित्र भएको छ ।

शीर्ष नेताहरूभित्रको विवादले साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन ।

Published : Monday, 2020 August 17, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया