देउवा–पौडेल सम्मानित भएर बस्नुपर्छ, नेतृत्वमा विचारसहित युवाहरू आउनुपर्छः रोमी गौचन थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले पार्टीको १४औँ महाधिवेशनमा युवाहरूको नेतृत्व आउनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान अन्तर्वार्ताका क्रममा थकालीले कांग्रेसको १४औँ महाधिवेशनले विचारसहितको युवा नेतृत्व आउनुपर्ने बताए । उनले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मानित नेता भएर बस्ने भनेर आएका सुझाव र टिकाटिप्पणीप्रति आफ्नो बिमती नरहेको बताएका छन् ।

‘उमेरले भन्दा पनि व्यक्तिमा युवा विचार खोज्ने व्यक्ति हुँ । विचारले युवा पिंडी नेतृत्व आउनुपर्छ’, उनले भने, ‘म त्यो खोज्ने व्यक्ति हुँ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्बन्धमा उठेका मागका विषयमा म नकारात्मक छैन ।’

पूर्वसांसद समेत रहेका थकालीले १४औँ महाधिवेशनमा विमलेन्द्र निधि सभापतिमा उम्मेदवार बन्ने विषयलाई अन्यथा लिन नहुने बताएका छन् । ‘विमलेन्द्र निधिको मागलाई देउवाले अन्यथा लिनु हुँदैन’, उनले भने, ‘देउवालाई सहयोग गर्ने मान्छेले यसरी आँटेर बोल्लान् भन्ने लागेको थिएन । बोल्नुभयो । राम्रो हो । विमलेन्द्र निधिजी महेन्द्रनारायण निधिको सुपुत्र हुनुहुँदो रहेछ ।’

१४औँ महाधिवेशनमा आफ्नो उम्मेदवारीका विषयमा केही नबताएका कांग्रेस नेता थकालीले गगन थापासहितका युवा नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेका विषयलाई अन्यथा लिन नहुने बताए । उनले काम गर्नका लागि पदनै चाहिन्छ भन्ने पक्षमा आफू नरहेको बताए ।

‘मलाई गिरिजाबाबुले केन्द्रीय सदस्य मनोनीत गर्न खोज्नुभएको थियो । मैले मानेन’, उनले भने, ‘पार्टीमा ठूलो पद नहुँदा पनि म सांसद भएँ । मन्त्री बने । काम गर्ने इच्छाशक्तिले हो । पद नै सबै कुरा होइन ।’

प्रधानमन्त्री खड्गप्रसाद ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन सम्वादलाई पूर्वमन्त्री थकालीले सकारात्मक रुपमा लिएको बताए । ‘मोदीजीसँग कुरा गरेर ओलीजीको होइट बढेको छ । घट्दैन । वार्ता आफैमा सकारात्मक पक्ष हो’, उनले भने, ‘कुटनैतिक वार्तामार्फत सीमा विवादको कुरा गर्नुपर्छ । वार्ताको ढोका खुलेको छ ।’

कांग्रेस नेता थकालीले भने, ‘टेलिफोन सम्वादमा सिमानाको विषयमा वार्ता कसरी भयो होला र ? यो टेलिफोन सम्वादलाई अवसरका रुपमा परिवर्तन गर्न सक्नुपर्छ ।’

Published : Sunday, 2020 August 16, 8:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया