नेकपाका शक्तिशाली महासचिवलाई झट्का, बुटवलका लोकप्रिय नेता दलबलसहित कांग्रेस प्रवश
बुटवल । रुपन्देही जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल नगर कमिटीका सचिवालय सदस्य जीतबहादुर मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बुधबार बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मल्लसहित २१८ जनाले नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । मल्लसहितका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेपछि नेकपाका महासचिव विष्णु पौडेललाई तनाब भएको छ ।
पार्टी एकीकरण हुनु अगावै तत्कालीन एमालेका नगर कमिटी उपाध्यक्ष समेत रहेका मल्लसहित बुटवल उपमहानगरपालिका वडा नं. ११ का नेकपाका १२२ जना संगठित सदस्य र ९६ जना साधारण सदस्य गरि २१८ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरू नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले पार्टी प्रवेश गराएका छन् । मल्लले बुधबार नै एक प्रेस विज्ञप्ति जारी गरि आफू सहित २१८ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उनले स्थानीय तह, प्रदेश र केन्द्रमा अत्यधिक बहुमतको सरकार हुँदा पनि कम्युनिष्ट पार्टीको नीतिअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । मल्लले पार्टीको सिद्धान्त र मर्मलाई आत्मसात गर्न नसकेको हुँदा ‘कम्युनिष्ट हुँ’ भनेर यो पार्टीमा रहनुको औचित्य समाप्त भएको उल्लेख गरिएको छ ।
पार्टी प्रवेशका क्रममा पनि मल्लले नेकपा फुटको संघारमा पुगेको र नीति तथा सिद्धान्तभन्दा पनि व्यक्तिवादी चिन्तनबाट पार्टीलाई अगाडि बढाउन खोजिएकाले लोकतान्त्रिक मूल्यमान्यता बोकेको नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
मल्लले नेपाली कांग्रेसमा आफूसहित प्रवेश गर्ने सबैको नामावली सभापति रज्जाकलाई प्रदान गरेका छन् । नेकपाका नेताहरूले अल्झाउने र रोक्ने ठूलो प्रयास गरेकाले त्यसलाई छिचोल्दा कार्यक्रममा आउन ढिला भएको समेत मल्लले बताए ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रज्जाकले कांग्रेस स्थापना कालदेखिनै लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल्य मान्यतामा अडिग रहेको बताउँदै पार्टीको मूल्य मान्यता र सिद्धान्तबाट कत्ति पनि विचलिन नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले अहिले मुलुकमा कम्युनिष्ट पार्टीको दुईतिहाई बहुमत हुँदा पनि जनताको पक्षमा कुनैपनि काम गर्न नसकेको औंल्याउँदै कम्युनिष्टहरू पतनको बाटोमा अगाडि बढेको बताए ।
नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले अहिले कम्युनिष्ट सरकारमा पुगेका व्यक्तिले जनताका कामभन्दा पनि व्यक्तिवादी चिन्तन र कमाउ धन्दामा लागेका कारण कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास गुम्दै गएको बताए ।
कार्यक्रममा पार्टीका महासमिति सदस्य युवराज गिरी, काजीमान श्रेष्ठ, क्षेत्रीय सभापति हरि लम्साल, क्षेत्र नं. २ ‘क’का सभापति माधवलाल देवकोटा, बुटवल नगर सभापति खेलराज पाण्डेले पार्टीमा नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया