स्व.सुशील कोइरालाको स्मरणमा तरुण दलद्वारा काठमाडाैंमा वृद्धवृद्धालाई फलफूल वितरण

काठमाडौं । नेपाल तरुण दलले ‘वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी ‘आमा घर’लाई फलफूल तथा स्वास्थ्य सामग्री विरतण गरेको छ ।

काठमाडौंको कालिमाटी, रवि भवनमा रहेको ‘आमा घर’का वृद्धवृद्धलाई बुधबार तरुण दलले फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरेको हो । ‘आमा घर’की सञ्चालिका दिलशोभा श्रेष्ठलाई तरुण दलका पदाधिकारीहरूले फलफूल तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

सुशील कोइरालाको ८१औं जन्म जयन्ती तथा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

‘सुशील कोइरालाज्यूको नेतृत्वमा मुलुकले संविधान पाएको छ’, उनले भने, ‘उहाँको जन्म जयन्ती तथा अन्तर्राष्ट्रिय युवा दिवस भएकाले केही सामाजिक काम गरौँ भनेर वृद्धवृद्धालाई फलफूल र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौँ ।’

फलफूल एवम् स्वास्थ्य सामग्री वितरण कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ, कोषाध्यक्ष विद्वान गुरुङ र कांग्रेसका युवा नेता विजय केसीसहितका तरुण नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कोरोना भाइरसको महामारीका कारण सामाजिक दुरी कायम गरेर फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

ललितपुर कांग्रेसका नेता सन्तोषराज केसी र नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वकेन्द्रीय सदस्य रवि थापाले सहयोग गरेको भन्दै तरुण दलले धन्यावाद समेत दिएको छ ।

तरुण दलले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सबै जिल्लाहरूलाई सरसफाइ, रचनात्मकसहितका कार्यक्रमहरू सामाजिक दुरी राखेर गर्न निर्देशन दिएको थियो ।

Published : Wednesday, 2020 August 12, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया