ललितपुरमा नेकपाभित्र पहिरो, कम्युनिस्ट किल्लामा कांग्रेसको धावा, छक्कै परे सिलवाल र सञ्जेल
ललितपुर । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला ललितपुर जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ४२ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बागमती गाउँपालिकामा शुक्रबार आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, कांग्रेसको केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका हुन् ।
नेपाली कांग्रेस बागमती गाउँपालिका वडा नम्बर २ माल्टामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम राखिएको थियो ।
सो कार्यक्रममा करीव ३४ वर्ष कम्युनिस्ट पार्टीमा काम गरेका केदारमान भुलन कांग्रेस प्रवेश गरेका छन् । भुलन २०५४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी २०७४ सालमा स्थानीय निर्वाचनमा तत्कालीन वडाध्यक्षका उम्मेदवार बनेका थिए । भुलन १५ वर्षसम्म माल्टा गाउँ कमिटीको अध्यक्ष समेत रहेका थिए ।
२०५४ सालमा वडाध्यक्ष बिजेता तथा २०७४ सालमा नयाँ शक्ति पार्टीको वडाध्यक्षका उम्मेदवार समेत रहेका वीरबहादुर थापा मगर पनि कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस पार्टी प्रवेश गर्नेमा नेकपाका ४२ जना रहेको नेपाली कांग्रेस खेलकुद विभागका सचिव एवम् युवा नेता महर्जनले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्य, पूर्वअर्थरा ज्यमन्त्री उदय शम्शेर राणा, युवा नेता मीनकृष्ण महर्जन, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, उप–प्रमुख रञ्जना घिमिरे, जिल्ला सदस्य रामकृष्ण हुमागाइँ, रविन्स शर्मा, वडाध्यक्ष तथा बागमती गाउँपालिका सभापति विष्णु तिमल्सिना, जयराम तिमल्सिना, नेविसंघ ललितपुरका सचिव दीपक घिमिरे, तरुण दल ललितपुर– १ का अध्यक्ष कमल लों तामाङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेका थियो । कार्यक्रम सोही वडाका वडाध्यक्ष विजयकुमार लोंको सभापतित्वमा सञ्चालन भएको थियो ।
कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई रोक्न नेकपाका प्रदेश सांसद चेतनाथ सञ्जेल र उर्जामन्त्री वर्षमान पुनका सहयोगी निशान मगरले ठूलो प्रयास गरेका थिए । तर, कम्युनिस्टहरू भनेका झटको खेती गर्नेहरूको झुण्ड भएको भन्दै नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका छन् ।
यो क्षेत्रबाट प्रतिनिधि सभामा तत्कालीन एमालेबाट नवराज सिलवाल विजयी भएका छन् । प्रदेश सांसदमा तत्कालीन एमालेबाट चेतनाथ सञ्जेल विजयी भएका थिए । चुनावका बेला सिलवाल र सञ्जेलले गरेको आश्वासन जितेर गएपछि फर्केर नहेरेको आरोप स्थानीयको छ । नेकपाका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेस प्रवेश गरेपछि सिलवाल र सञ्जेल चकित परेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया