‘गुण्डा’ जस्तै बने कम्युनिस्ट वडाध्यक्ष केसी, प्रहरी चौकी आक्रमण
मुसीकोट । रुकुम पश्चिम जिल्लाको मुसीकोटको प्रहरी चौकीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित वडाध्यक्ष दीपक केसीले गुण्डागर्दी शैलीमा आक्रमण गरेर क्षति पुर्याएका छन् ।
मुसीकोट नगरपालिकाको वडा नम्बर १४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरी चौकीमा वडाध्यक्ष केसीको समूहले मंगलबार तोडफोड गरेको हो ।
वडा नम्बर १३ का वडाध्यक्ष केसी नेतृत्वको टोलीले ८ बजेतिर आक्रमण गरेको प्रहरीले जनाएको छ । तोडफोड गरेपछि वडाध्यक्ष केसीसहितका समूह फरार भएको छ ।
वडाध्यक्ष केसीले चेकजाँचका लागि राखेको ढाट हटाउन प्रहरीले ढिला गरेको भन्दै झगडा शुरु गरेका थिए । त्यसपछि केसीले २०–२५ जनाको समूह ल्याए तोडफोड गरेको स्थानीयको भनाइ छ ।
उनीहरूले स्थानीयका घरबाट बाँसका भाटा तथा विभिन्न सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा आक्रमण गरिएका थिए ।
चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले कुर्ची, गाडी रोक्न बनाइएका सामान ताडफोड गरिनुका साथै चौकीमा ढुंगामुढा भएको बताए ।
बुधबार बिहानदेखि चौकी सुनसान छ । प्रहरी डिउटीमा छैनन् । चौकी इन्चार्ज साउद उजुरी दर्ताका लागि भन्दै जिल्ला पुगेका छन् ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लीको संयुक्त टोली छिवाङ पुगेको थियो ।
प्रहरीले रातभर खोज्दा पनि वडाध्यक्षसहित आक्रमणमा संलग्न अन्यलाई भेटाउन सकेको छैन । वडाध्यक्ष केसीको मोबाइल अफ गरेर फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर ओलीले चौकीका अधिकांश सामग्रीमा क्षति पुगेको बताए ।
जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले चौकी तोडफोडमा संलग्न केसीसहित सबैको खोजी भइरहेको बताएका छन् ।
यसअघि पनि वडाध्यक्ष केसीलाई प्रहरीले पटक–पटक सम्झाई–बुझाई पठाएको डीएसपी केसीले जानकारी दिए । आफ्ना घरका सामग्री निकालेर चौकीमा आक्रमण हुन थालेपछि स्थानीयले वडाध्यक्ष केसीको विरोध गरेका थिए ।
मध्यपहाडी लोकमार्गमै पर्ने उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न भन्दै केही वर्षअघि मात्र प्रहरी चौकी राखिएको हो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया