कम्युनिस्टले गोयवल्स शैलीका प्रोपोगण्डाहरू गरेपछि कांग्रेसद्वारा खण्डन
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक’ हटाइएको विषय र त्यसमा कांग्रेसलाई जोडेर प्रेषित गरिएका समाचारप्रति गम्भीरतापूर्वक आकृष्ट भएको जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरेर कांग्रेसलाई जोडेर आएका समाचारहरूमा कुनै सत्यता नरहेको बताएका हुन् ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भू–भाग हुन्, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र ती भू–भागमा नेपालको हक निर्वाध कायम हुनुपर्छ भनेर विगत देखिनै नेपाली कांग्रेसले प्रष्ट धारणा राखेको सर्वविदितै छ’, प्रवक्ता शर्माले भनेका छन् ।
‘सन् २०१५ को मे मा भारत र चीनबीच लिपुलेकको नाकाबारे सहमति हुँदा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले दुवै राष्ट्रलाई प्रोटेस्ट नोट पठाएर ती भू–भाग माथि नेपालको हक रहेकोे तथ्यलाई साझा राष्ट्रिय मुद्दाका रूपमा विकसित गरेको सत्य पनि सर्वविदितै छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१९ को नोभेम्बरमा भारत सरकारले हाम्रा भू–भाग समेत समेटेर नक्सा सार्वजनिक गरेपछि त्यसप्रति सबैभन्दा अघि विरोध प्रकट गर्दै राष्ट्रिय सहमति साथ निरन्तर उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गर्न नेपाली कांग्रेसले नेपाल सरकारलाई निरन्तर सुझाव र दबाब दिएको तथ्य पनि सर्वविदितै छ ।’
‘प्रधानमन्त्रीले जेठ १३ गते बोलाउनु भएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले लिपुलेकमा भारतले बनाएको सडकप्रतिको आफ्नो प्रष्ट विरोध र नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नक्साप्रतिको आफ्नो समर्थन प्रष्ट भाषामा प्रस्तुत गरिसकेको छ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।
‘यस्तो पृष्ठभूमिमा संविधान संशोधनको प्रस्तावप्रति पार्टी केन्द्रीय समितिकै बैठकबाट संस्थागत निर्णय लिइने पूर्व घोषणा सर्वदलीय बैठकमा जानकारी गराइएको विषयलाई ‘कांग्रेसले समय मागेको’ भन्ने ढंगले उच्च तहबाट सम्प्रेषण गरिनु र आज संसदको कार्यसूचीबाट संशोधन विधेयक हटाएर त्यसको दोष नेपाली कांग्रेसलाई थोपर्न खोज्नु नियोजित, निन्दनीय र आपत्तिजनक छ’, शर्माले भनेका छन् ।
‘संशोधन प्रस्ताव दर्ता हुँदै गर्दा प्रतिपक्ष लगायत संसदमा रहेका कुनै पनि दलसँग परामर्श गर्ने कर्तव्य सरकारले स्मरण नगरे पनि संविधान संशोधन जस्तो विषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जाँदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने धारणामा नेपाली कांग्रेस प्रष्ट छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री स्वयंले सर्वदलीय बैठकमा सर्वसम्मतिको अपेक्षा प्रस्तुत गर्नु भएको तथ्य पनि यहाँ स्मरणीय छ ।’
‘संसदको प्रक्रियालाई अन्य कुनै कारणले मुल्तविमा राख्ने र दोष अरुलाई लगाउने प्रवृत्ति गम्भीर र खेदजनक छ’, कांग्रेसले भनेको छ, ‘संशोधन प्रस्तावलाई संभावित कार्यसूचीबाट हटाउन न त नेपाली कांग्रेसले माग गरेको थियो न त यसको पूर्व सूचना संसदीय दलका साथीहरुलाई दिइएको थियो ।’
कांग्रेसका प्रवक्ता शर्माले भने, ‘त्यसैले पनि यसका पछिल्तिरको नियतप्रति सजग बन्न हामी सबैलाई सतर्क गराउन चाहन्छौं ।’
‘राष्ट्रवादको अडान जिम्मेवारपूर्ण र परिणाममुखी हुनुपर्छ भन्ने मान्यता साथ पार्टी केन्द्रीय समितिको बैठकबाट नेपालको नयाँ नक्सा र संशोधन प्रस्तावमा संस्थागत निर्णय गर्न नेपाली कांग्रेस पूर्व घोषणा अनुरुप प्रतिबद्ध छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘गोयवल्स शैलीका प्रोपोगण्डाहरू स्वदेशको सत्तादेखि विदेशको सञ्चार माध्यम जो कोहीबाट जुन रुपमा भएको होस् त्यसप्रति सजग रहँदै कुनै पनि खाले भ्रमबाट मुक्त रहन नेपाली कांग्रेस समस्त नेपाली दिदीबहिनी—दाजुभाइमा हार्दिक अपील गर्दछ’, कांग्रेसका प्रवक्ता शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।
कांग्रेसका कारण संविधान संशोधनको प्रस्ताव संसदको सम्भावित कार्यसूचीबाट हटाइएको भनेर कम्युनिस्टहरूले हल्ला फैलाएपछि कांग्रेसले समाचारको खण्डन गर्दै कार्यसूचीबाट संशोधन प्रस्ताव हटाउनुमा कुनै संलग्नता नरहेको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया