काठमाडौं प्रवेश गर्न आरडीटी रिपोर्ट देखाउनुपर्ने, खर्च आफै व्यहोर्नुपर्ने
काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको छ ।
गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल गरेको छ । मन्त्रालयले लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
काठमाडौं उपत्यका प्रवेशसँग कोरोना संक्रमितको संख्या बढेपछि मन्त्रालयले यस्तो कडा कदम उठाएको छ ।
गृह मन्त्रालयले अत्यावश्यक कामले काठमाडौं प्रवेश गर्दा आरडीटी रिपोर्ट देखाउनुपर्ने उल्लेख छ ।
‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश गर्नुपूर्व नै आफ्नै खर्चमा आरडीटी परीक्षण गरी त्यसको रिपोर्टका साथ उपत्यका प्रवेश अनुमति माग गर्नुपर्नेछ’, गृह मन्त्रालयले स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख छ ।
काठमाडौं उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरू प्रवेश विन्दुमा पुग्नुपूर्व जिल्लामा नै सुरक्षा निकायले निगरानीका साथ रोक्ने र आगमनमा कडाइ गर्ने उल्लेख छ ।
गृहप्रवक्ता केदारनाथ शर्माले सकेसम्म अनावश्यक रुपमा भित्रिने क्रम रोक्न यस्तो निर्णय गरिएको बताएका छन् ।
‘कोरोना परीक्षण भए राम्रै कुरा हो’, उनले भने, ‘बिरामी लगायत आपत्कालीन अवस्थाका व्यक्तिलाई पनि अनिवार्य आरडीटी रिपोर्ट भनिएको होइन ।’
‘कतिपय व्यक्ति अत्यावश्यक कामबाहेक पनि आवतजावत गर्ने गरेको पाइएको छ’, प्रवक्ता शर्माले भने, ‘यसतर्फ पनि सचेत हुन जरुरी छ ।’
काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित बढेपछि सरकारले कठोर कदम उठाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया