‘धुजाधुजा’ बनाए गगनले कम्युनिस्ट सरकारलाई, मान्छे बचाउन नसक्नेले देशको सीमा बचाउँदैन
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले सीमामा आएर बसेको आफ्नो मान्छेको ज्यान बचाउन नसक्ने सरकारले देशको भूमि फिर्ता गर्छ भन्नेमा आफूलाई रत्तिभर आशा नरहेको बताएका छन् ।
संसदको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै युवा नेता थापाले विदेशमा रहेका र सिमानामा आएर बसेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको जीवन बचाउन नसक्ने सरकारले भारतले लुटेको भूमि फिर्ता गराउन नसक्ने बताए ।
‘लिम्पियाधुरासहितको समाबेस गरेको नक्सा निकालिन्छ र सँगसँगै भू–भाग समेटिनका लागि पहल गरिन्छ भन्दै गर्दा मेरो माननीय साथीहरूसँग मैले पनि टेबल ठटाएँ’, उनले भने, ‘किन कि नक्सा पनि बनाइन्छ, लुटेको भू–भागपनि फिर्ता ल्याइन्छ ।’
‘तर घर गएर आफैलाई सोधे ? जसले सिमानामा अलपत्र परेको मेरो नागरिक साथी जोगाउन सक्दैन, त्यसले मेरो सीमा जोगाइदिन्छ ?’, थापाले प्रश्न गर्दै भने, ‘जसले खाडीमा अलपत्र परेकोलाई फिर्ता ल्याउन सक्दैन, त्यसले मेरो भूमि ल्याइदिन सक्छ ? यो संसद काहिले काहिँ बहस, राष्ट्रियता भनेको माटो हो कि मान्छ हो ? दुइटै हो । माटो पनि हो, मान्छे पनि हो ।’
‘जसले आफ्नो मान्छे चिन्न सक्दैन, जसले आफ्नो मान्छे जोगाउन सक्दैन, त्यसले माटो जोगाउन पनि सक्दैन’, कांग्रेसका युवा नेता थापाले भने, ‘जसलाई पसिनाको गन्धको आनन्दको अनुभूति हुँदैन, त्यसले माटोको सुगन्ध पनि थाहा पाउँदैन ।’
‘त्यसैले मलाई मान्छे जोगाउन नसक्ने सरकारले भूमि जोगाइदिन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘मेरो मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याइदिन्छ भन्ने रत्तिभर पनि भ्रम छैन ।’
‘प्रमुख प्रतिपक्ष दलका नेताले यो सरकारसँग जनताको पीडा बुझ्ने हृदय छैन भन्नुभयो । सांसद प्रदीप गिरीले यो सरकारलाई गीतको नसा लागेको छ भन्नुभयो’, थापाले भने, ‘कुरा त्यति मात्रै होइन । दुई अमेरिकन साइकोलोजी डर्निङ र क्लुजरले सन् १९९९मा गरेको एउटा रोचक तथ्य अगाडि सारेको थियो । केही कम क्षमता भएका मानिसलाई के लाग्छ भने उनीहरूसँग अदभूत क्षमता छ ।’
‘आफूलाई ज्ञान नै नभएको विषयमा आफूलाई गजबको ज्ञान भएको भ्रान्ती उनीहरूमा हुन्छ । यस्तो संज्ञानात्मक पूर्वाग्रहलाई डनिङक्रुगर ईफोक्टको नाम दिइएको थियो । डनिङ भन्छन्, यस्तो प्रभाव सामान्य मान्छेमा हुँदा कम क्षति हुन्छ । तर, कुनै कम्पनीको मालिक वा देश चलाउनेलाई यस्तो भयो भने बर्बाद नै हुन्छ ।’
‘यसमाथि कमक्षमता भएको मानिसको वरीपरी रहनेहरूले हुँदै नभएको ज्ञान र क्षमतामा पनि ‘क्या बात, क्या बात’ भनिरहे भने देश वा कम्पनी दुर्घटनामै पर्न सक्छ’, कांग्रेसका सांसद थापाले भने ।
‘यो नीति तथा कार्यक्रम पढिरहँदा यस्तै प्रभावले ग्रस्त भएर हाम्रो नेपाल दुर्घटनाको नजिक पुगेको भान मलाई भएको छ’, उनले भने, ‘यो दस्ताबेज प्रधानमन्त्रीले एक्ले लेख्नुभएको कविता जस्तो होइन । न कुनै मन्त्रीहरूले लुकाएर लेख्नुभएको अध्यादेश जस्तो हो । यो त पहिला लेखियो होला ।’
‘सचिव, मन्त्री, प्रधानमन्त्रीको टिम, अनि प्रधानमन्त्रीले यहाँ ल्याउनुभन्दा पहिला पटक–पटक पढ्नु भयो होला, हेर्नु भयो होला’, थापाले भने, ‘यो महामारीले गर्दा विश्वको व्यवस्था र अवस्वस्थामा कसरी खलबल ल्याएको छ, यसबाट हामी अछुतो होइन, हामी झन् बढी प्रभावित भएका छौँ, हामी हुँदै जाने छौँ भनेर यो दस्ताबेज लेख्दै गर्दा कसैले भनेन ?’
‘नागरिकको खल्ती खाली हुँदा यसले घरको खुत्रुके मात्र रित्तिने होइन देशको ढुकुटी पनि रित्तिसक्यो, त्यसैले यस्तो बेला, योपनि गरिनेछ, त्योपनि गरिनेछ, भनेर नलेखौँ भनेर कसैले भनेन ?’, थापाले प्रश्न गर्दै भने, ‘घरभित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदै गर्दा बारीदेखि भकारीसम्म प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौँ, तत्काल बारी र भकारीको प्रभावलाई कम कसरी गर्ने हो ? लखौँ भनेर कसैले भनेन ?’
‘रोजगारी वृद्धि हुन्छ, नेपालको नेपालको समृद्धि भन्ने नारा लेखिदै गर्दा यही दुई महिनामा लाखौँ मानिस, जो हिँजो रोजगारी पाएका थिए, उनी बेरोजगारी भइसके भनेर कसैले भनेन ?’, थापाले प्रश्न गर्दै भने, ‘भोकले कोही मर्दैन, कोही भोकै हुँदैन’ भन्ने नारा लेख्दै गर्दा भोकले मरी सके भनेर कसैले भनेन ?’
‘सरकारको अभुतपूर्व कामले संक्रमण नियन्त्रण भयो भनेर लेखिरहँदा संक्रमण कम भएको होइन, परीक्षण कम भएको हो भनेर कसैले भनेन ?’, उनको प्रश्न छ, ‘कोभिड– १९ बाट एउटा पनि ज्यान गएको छैन भनेर तिघ्रा ठटाउँदै गर्दा यस्तै शैली हो, यस्तै प्रवृत्ति हो, यस्तै काम गर्ने तरिका हो भने अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न भ्याइँदैन भनेर कसैले भन्न सकेन ? भनेन ? गरेन त्यसैले यो दस्ताबेज पढ्दै गर्दा म निरास र आक्रोश होइन, म लज्जित भएको छु ।’
कांग्रेसका सांसद थापाले संसदमा बोल्दै गर्दा सत्ता पक्षका सांसदहरूले पनि चासोका साथ सुनेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया