यी दश संक्रमितहरू भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए
गरुडा । भारतबाट लुकीछिपी भित्रिएका रौतहट जिल्लाका दश जनामा एकै दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । रौतहटमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।
आइतबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका छन् ।
डा.अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा रौतहट जिल्लाका १० जनामा कोरोना भेटिएको बताए ।
कोरोना संक्रमितहरुमा रौतहट राजपुर नगरपालिका–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरू र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेका छन् ।
उनीहरू राजपुर नगरपालिकाका संक्रमितहरू वडा नम्बर ९ बैरियास्थित क्वारेन्टाइनमा बसिरहेका छन् ।
इशनाथ नगरपालिकाका संक्रमितहरू वडा नम्बर ३ औरैयास्थित क्वारेन्टाइनमा बसिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
दुवै नगरपालिकाका दश जना संक्रमितहरू लकडाउनका बेला चोरबाटो हुँदै ५ दिनअघि मात्रै भारतबाट फर्किएका थिए ।
उनीहरू भारतबाट फर्के पनि परिवारको सम्पर्कमा जान नपाउँदै पक्राउ गरेर क्वारेन्टाइनमा राखिएको थियो ।
राजपुर नगरपालिकाका मेयर शेख वकिलले संक्रमित सात जना भारतको मुम्बई शहरमा मजदुरको काम गर्ने गरेको बताए । उनीहरू ५ दिनअघि चोरबाटो हुँदै नेपाल फर्केको वकिलले बताए ।
नेपाल फर्केका उनीहरूलाई बोर्डरमा पक्राउ गरि वडा नम्बर ७ स्थित बैरिया क्वारेन्टाइनमा पठाइएको थियो ।
क्वारेन्टाइनमा बसिरहेका उनीहरूको तीन दिनअघि मात्रै स्वाब संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।
सात जनाकै रिपोर्ट पोजेटिभ आएको मेयर वकिलले बताए । इशनाथ नगरपालिकाका संक्रमितहरू पनि भारतबाट नै चोरबाटो भएर नेपाल प्रवेश गरेका थिए ।
इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताका अनुसार तीन जना दिल्लीको एक ब्याग कम्पनीमा काम गर्दै आएका थिए ।
भारतमा लकडाउन भएसँगै कम्पनी बन्द भएपछि उनीहरू पैदल हिँडेर रौतहट आएका थिए ।
नेपाल–भारत सीमा नाकाहरू बन्द भएपछि उनीहरू चोरबाटो भएर नेपाल छिरेका थिए । उनीहरूलाई पक्राउ गरेर क्वारेन्टाइनमा राखिएको थियो । ती जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कोरोना संक्रमण पुष्टि भएका दश जनाको अवस्था अहिले सामान्य रहेको बताए ।
रौतहट जिल्लामा यसभन्दा अगाडि नै ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया