नेकपाका सांसद सुनुवारलाई गाडी ‘कब्जा’काे आरोप, सरकारी गाडी दुरुपयोग
ओखलढुंगा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले ना १ ज ४३७५ नम्बरको गाडी ‘कब्जा’ गरेर आफ्नो पार्टीका नेतालाई काठमाडौं पठाएको आरोप लागेको छ ।
तर, सांसद सुनुवारले आफूलाई लागेको आरोप ठाडै अस्वीकार गरेका छन् । बिरामीको नाममा पास बनाएर नेकपाका नेतालाई काठमाडौं पठाएपछि ओखलढुंगामा हँगामा भएको छ ।
वैशाख २३ गते काठमाडौंबाट मोलुङ गाउँपालिका वडा नम्बर २ की गोमादेवी घिमिरेको निधन भएपछि आफन्तहरू काठमाडौंबाट सो गाडी लिएर आएका थिए ।
महानगरीय प्रहरी प्रमुख (डीआईजी) विश्वराज पोखरेलको समन्वयमा सो गाडीमा मृतकका आफन्तहरू वैशाख २३ गते ओखलढुंगा आएका हुन् । डीआईजी पोखरेलले नै सो गाडीलाई ओखलढुंगाबाट काठमाडौं आउने व्यवस्था मिलाइदिएका थिए ।
भक्तिविलास घिमिरेकी पत्न तथा त्रिलोचन घिमिरेकी आमा स्व.गोमादेवी घिमिरेको निधन भएपछि काठमाडौंबाट डीआईजी पोखरेलको सहयोगमा सो गाडी ओखलढुंगा आएको थियो ।
नेकपाका सांसद सुनुवारले आफ्नो पार्टी नेकपाका पोलिट ब्युरो सदस्य पेशल खतिवडालाई काठमाडौं पठाउनका लागि सो गाडी वैशाख २४ गते प्रमुख जिल्ला अधिकारीलाई दवाव दिएर रोक्न लगाएको स्रोतले जनाएको छ ।
नेकपाका सांसद सुनुवारले सो गाडी आफूले दवाव दिएर नरोकेको दाबी गरेका छन् । ‘त्यो गाडीलाई काठमाडौं आउनका लागि पास थिएन’, सुनुवारले भने, ‘मोलुङ गाउँपालिकाको सिफारिसमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीले पाटन अस्पतालका बिरामी जनक राईको नाममा पास बनाएका थिए । जसको नाममा पास थियो त्यो व्यक्तिलाई लिएर गाडी आएको हो ।’
स्रोतका अनुसार सांसद सुनुवारले सत्ता र शक्तिको आडमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरीमार्फत सो गाडी वैशाख २४ गते जिल्ला समन्वय समितिको कार्यालय नजिकै रोकिएको थियो ।
प्रहरीले गाडी रोकेर चालक दीपक अधिकारीलाई सांसद सुनुवारलाई फोन गर्न आदेश दिएको स्रोतले जनाएको छ ।
त्यसपछि चालक अधिकारीले सांसद सुनुवारलाई फोन गरेका थिए । चालक अधिकारीले सुनुवारको तीन वटा नम्बरका मोबाइलमा फोन गरेपनि सम्पर्क हुन सकेको थिएन । त्यसपछि प्रहरीले सञ्चार सेटमा कुरा गरेर गाडीलाई जिल्ला प्रशासन कार्यालयमा पठाइदिएको थियो ।
नेकपाका नेताहरू पार्टीको कार्यक्रममा हिँडेपछि सो गाडीले काठमाडौंबाट सँगै गएका दुई जनालाई छाडेर आउन खोजेको थियो । त्यो कुरा चाल पाएपछि सुनुवारले प्रमुख जिल्ला अधिकारीलाई दवाव दिएर रोक्न लगाएको आरोप छ ।
सो गाडीमा नेकपाका पोलिट ब्युरो सदस्य पेशल खतिवडासहित पाँच जना चढेर काठमाडौं आएका थिए । सांसद सुनुवारले सो गाडीमा नेकपाका पोलिट ब्युरो सदस्य पेशल खतिवडा चढेर ओखलढुंगाबाट काठमाडौं आएको स्वीकार गरेका छन् ।
नेकपाका सांसद सुनुवारको दवावमा प्रमुख जिल्ला अधिकारीले चालक सहित पाँच जना भनेर पास बनाइदिएका थिए ।
गाडीका चालक अधिकारीले भने, ‘काठमाडौंबाट ओखलढुंगा जाने बेला मृतकका आफन्तहरूले भनेपछि प्रहरीका डीआईजी विश्वराज पोखरेलको सहयोगमा गएका हौँ । मेरो गाडी भाडामा लैजाने सरहरूले नै जाने र आउने व्यवस्था मिलाइदिनु भएको थियो ।’ चालक अधिकारीले सो घटनाका विषयमा धेरै बोल्न चाहेनन् ।
यसैबीच, सांसद सुनुवारले शिद्धिचरण ओखलढुंगा नगरपालिका र मोलङ गाउँपालिकाको सरकारी गाडी दुरुपयोग गरेको आरोप लागेको छ ।
स्वास्थ्य विभागले उपलब्ध गराएको पीपीई ५० सेट, सर्जिकल मास्क १ हजार थान, पञ्जा ५ सय थान, सेनिटाईजर २० लिटर, आईआर थर्मोमिटर ५ थान लिएर ओखलढुंगा आएका थिए ।
सो सामग्री लैजान उनले नगरपालिकाको गाडी दुरुपयोग गरेको आरोप छ । काठमाडौं फर्किन सांसद सुनुवारले गाउँपालिकाको सरकारी गाडी दुरुपयोग गरेको स्रोतले जनाएको छ ।
गाडी दुरुपयोगका विषयमा पनि सांसद सुनुवारले अस्वीकार गरेका छन् । ‘म ओखलढुंगाबाट निर्वाचित सांसद हुँ’, उनले भने, ‘सरकारी गाडी प्रयोग गर्न पाइन्छ ।’
सांसद सुनुवारले गाडी भाडाभन्दा पनि थोरै मूल्यका स्वास्थ्य सामग्री ओखलढुंगा लैजान गाडी दुरुपयोग गर्न थालेपछि कर्मचारीहरू चिढिएका छन् ।
उनीहरूले सांसद सुनुवारलाई अलिक धेरै सामग्री ल्याउन मात्रै सरकारी गाडी प्रयोग गर्न सुझाव दिएका छन् । सांसद सुनुवारले आफ्ना विराेधीहरूले नानाथरी प्रचारवाजी गर्ने गरेकाे बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया