सरकारी पैसा कुम्ल्याउन चिटिक्क परेका काठमाडौंका सडक धमाधम खन्दै

काठमाडौं । लकडाउनका बेला काठमाडौं उपत्यकाभित्रका सडकहरू मर्मत सम्भार गरिएको भए पनि पुनः सडक विभागले ती सडकहरू भत्काउन थालेको छ ।

भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङको निर्देशनमा लकडाउनको करीव दुई महिनामा काठमाडौं उपत्यकाका अधिकांश सडकहरूको खाल्डाखुल्डी टाल्नुका साथै ट्राफिक चिन्हहरू लगाइएको थियो ।

तर, सडक मर्मत भएको केही दिनभित्रै पुनः सडक विभागले ती सडकहरू धमाधम खन्न थालेको छ ।

ढलको मर्मत र मंगल (ढक्कन) बनाउने बहानामा मैतीदेवी, डिल्लीबजार क्षेत्रमा धमाधम सडक विभागका कर्मचारी र मजदुरहरूले सडक खनेका हुन् ।

ढलको मर्मत र मंगल (ढक्कन) बनाउनै थियो भने सडक मर्मत र पिच गर्ने बेला नै गर्नुपने थियो । तर, विभागका कर्मचारी र ठेकेदारले त्यस बेला त्यसो गर्न ठानेनन् ।

मंगलबार सडक खन्दै गरेका मजदुरलाई सडक किन खनेको भनेर जानकारी लिँदा ती मजदुरले भने, ‘ढलको मंगल र ढल मर्मतका लागि सडक खनिएको हो । हामीलाई ठेकेदारले खन्न भनेपछि खनेका हौँ ।’

सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको छ । जेठको १५ गते नयाँ बजेट आउँदै छ । बजेट आउनुभन्दा अगाडि बजेट खर्च गर्नका लागि सडक विभागका कर्मचारी र ठेकेदारहरूको मिलोमतोमा मर्मत सम्भार भएको सडक धमाधम खन्न शुरु गरिएको आरोप छ ।

हरेक वर्ष बजेट आउनुभन्दा केही हप्ता अगाडिदेखि सडकहरू मर्मतका नाममा सडकहरू खन्ने कार्य हुँदै आएको छ ।

Published : Tuesday, 2020 May 12, 10:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया