सरकारले भन्दा पहिला कांग्रेसले कोरोनाविरुद्ध जनचेतना फैलाएको होः विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवम् उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस नियन्त्रणका लागि सरकारी पहलभन्दा पनि पहिला कांग्रेसले जनस्तरमा सचेतना फैलाएको बताएका छन् ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सोमबार बसेको प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै उपसभापति निधिले कोरोना भाइरस नियन्त्रणको प्रयासमा जिम्मेवार प्रतिपक्षका नाताले सरकारलाई समर्थन गरेको बताए ।

‘कांग्रेसले उसका कमिकमजोरीमा भने निरन्तर खबरदारी गर्दै आएको छ’, उनले भने, ‘केन्द्रदेखि वडा तहसम्म पार्टी संयन्त्र परिचालन गरेर स्वास्थ्य सचेतना तथा राहत बितरणको कामलाई निरन्तरता दिइएको हुनाले आगामी दिनमा समेत यस कार्यलाई प्रतिष्ठानका तर्फबाट समेत सहयोग गरिनेछ ।’

यसअघि प्रतिष्ठानले गण्डकी, ५ नं. प्रदेश, कर्णाली र वाग्मती प्रदेशमा गरी महाधिवेशन प्रतिनिधिहरुकालागि पाँच वटा प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो ।

सोमबारको बैठकले कोरोना अघिको शैलीबाट तत्काल प्रशिक्षण दिन संभव नभएको ठहर गर्दै भिडियो कन्फ्रेसबाट बाँकी प्रदेश र तहगत रुपमा जिल्ला तथा क्षेत्र समेतमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने र प्रतिष्ठानका हरेक संरचनालाई भिडियो कन्फ्रेस मार्फत् जोड्ने निष्कर्ष निकालेको छ ।

तयारी अवस्थामा रहेको आधार पाठ्यक्रमलाई चाँडै प्रकाशन गर्नुपर्ने, कोरोनाले पारेका आर्थिक, सामाजिक तथा समाज मनोविज्ञानका विषयमा समेत विमर्श गर्नुपर्ने हुनाले चाँडै नै भिडियो कन्फ्रेन्समार्फत बैठक गर्ने निर्णय समेत गरिएको छ ।

बैठकमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.पुरुषोत्तम दाहालले प्रशिक्षणका लागि प्रतिष्ठानले तत्काल गर्नु पर्ने विषयहरूको जानकारी गराएका थिए ।

नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले कोरोना भाइरस, लिपुलेक, सिंहदरवार सामु चिनियाँ नागरिकहरुबाट भएको घटना लगायतका राष्ट्रिय मुद्दा सम्बोधन गर्ने सबालमा सरकार चुकेको बताए ।

शर्माले जिम्मेवार प्रतिपक्षका नाताले कांग्रेसले ती मुद्दामा निरन्तर खबरदारी गर्दै आएको जानकारी दिए ।

‘प्रतिष्ठानले समेत यस्ता गम्भीर मुद्दाहरूको अध्ययन तथा विश्लेषण गरी उचित सुझाव दिनुपर्दछ’, प्रवक्ता शर्माले भने, ‘भोलिका दिनमा यस्ता मुद्दामा कसको कस्तो भूमिका रह्यो भन्ने कुरा जनताले मूल्यांकन गर्नेछन् ।’

ई. दीपेश विष्टले सूचना प्रविधिको उपयोगका विषयमा सदस्यहरूलाई जानकारी दिएका थिए ।

विष्टकै प्राविधिक संयोजनमा केही दिन पहिले परीक्षणका रुपमा प्रतिष्ठानले भिडियो कन्फ्रेन्स समेत गरेको थियो ।

Published : Monday, 2020 May 11, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया