अपहरणको बात लागेका नेकपाका सांसदलाई संसद छिर्न नदिन कांग्रेस नेता खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले सांसद अपहरणको आरोप लागेकाहरूलाई संसद भवनभित्र प्रवेशमा रोक लगाउन माग गरेका छन् ।

पूर्वसांसद समेत रहेका खतिवडाले रिपब्लिका दैनिकसँग शुक्रबार बिहीबार कुरा गर्दै संसदको गरिमा बढाउन विपक्षी दलका सांसद अपहरणमा संलग्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूलाई संसद प्रवेश गर्न दिन नहुने बताए ।

‘संसदको आफ्नै गरिमा छ’, उनले भने, ‘सत्तारुढ दलका सांसदहरू नै विपक्षी दलको सांसद अपहरणमा संलग्न हुनु अत्यन्तै दुःखदायी हो ।’

‘आफ्नो पदीय मर्यादा विपरितका कार्य गर्नेहरूलाई संसद प्रवेश गर्न दिनु हुँदैन’, खतिवडाले भने, ‘सांसद अपहरणको अभियोग लागेर मुद्धा दर्ता भएका नेकपाका सांसदहरू नैतिकताका आधारमा संसद प्रवेश गर्नु हुँदैन । आफ्नो जिम्मेवारी बोध गर्नुपर्छ ।’

तत्कालीन समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेको अभियोगमा नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वर्आइजीपी सर्वेन्द्र खनालविरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौंमा अपहरणको मुद्धा दर्ता भएको छ ।

खतिवडाले मुद्धा दर्ता भइसक्दा समेत प्रहरी प्रशासनले अपहरणमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै आक्रोश पोखे । ‘सरकार नेकपाको छ । नेकपाकै सांसदहरू सांसद अपहरण र दल फुटाउन हिँड्द्धन् । प्रहरीका पूर्वआईजीपी नै अपराध गर्न जान्छन्’, उनले भने, ‘सत्ताको आडमा कति दिन चल्छ ? तत्काल सांसद अपहरणका आरोपीहरूलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ ।’

कांग्रेस नेता खतिवडाले स्वास्थ्य सामग्री ल्याउन नसकेको सरकार चीनको मास्क लगाएर बसेको टिप्पणी गरेका छन् ।

पार्टीभित्रको आन्तरिक समस्या व्यवस्थापन गर्दा मै यो सरकारले जनताको जीवन कोरोनाबाट बचाउन नसक्ने अवस्थामै पुगेको उनले बताए । ‘यो सरकारलाई ठूलो अवसर थियो ।

अवसह हुँदा पनि केही गर्न सकेन । स्वास्थ्य सामग्र ल्याउन नसकेपनि यो सरकार चीनको मास्क लगाएर सुरक्षित बनेर बसेको छ’, खतिवडाले भने, ‘अरुको दल फोड्ने, ओम्नी, यती, भ्रष्टहरूलाई साथ दिन छाडेर जनताको जीवन रक्षामा लाग्नुपर्छ ।’ उनले सरकार भ्रष्टाचार र अनियमिततालाई ढाकछोप गर्न सक्रय भएको भन्दै कमिशनको चक्करमा नलाग्न सुझाव दिएका छन् ।

स्वास्थ्य सामग्री ल्याउन नसकेर झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार आलोचित बनिरहेको छ ।

संसदको बैठक शुक्रबारदेखि शुरु हुँदै छ । यो बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

Published : Friday, 2020 May 8, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया