धोका पाएका गौतम ओलीकै दूत बनेर खुमलटार पुगे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीको दूत बनेर उपाध्यक्ष बामदेव गौतमले दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

ललितपुरको खुमलटारमा बुधबार बिहान पुगेर गौतमले प्रचण्डसँग परामर्श गरेका हुन् । प्रचण्ड र गौतमबीच भएको कुराकानीका विषयमा औपचारिक रुपमा बाहिर केही भनिएको छैन । गौतमले भेटमा प्रचण्डलाई ओलीसँग मिलेर जानका लागि आग्रह गरेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार उपाध्यक्ष गौतमले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई साथ दिन प्रचण्डसँग आग्रह गरेका छन् । प्रचण्डले व्यक्तिभन्दा पनि पार्टीको नीति र संस्थागत रुपमा आफू अगाडि बढ्न चाहेको सन्देश गौतममार्फत ओलीलाई पठाएको एक नेताले बताएका छन् ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँगको गठबन्धन तोडेर ओली क्याम्पमा पुगेका गौतमले आफूलाई असुरक्षित ठान्दै आएको बताउने गरिएको छ ।

ओलीले राजीनामा दिएपछि दुई महिनाभित्र प्रधानमन्त्री बन्ने सपना देखेका गौतमले अचानक ओलीकै दूत बनेर प्रचण्डलाई भेट गरेकोमा धेरैले आश्चर्यका रुपमा हेरेका छन् ।

बुधबार नेकपाको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । सचिवालयले बिहीबार बस्ने स्थायी समितिको बैठकको एजेण्डा तयार गर्नेछ ।

Published : Wednesday, 2020 May 6, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया