लकडाउनको बेवास्ता गर्दै प्रदर्शन गर्ने यी हुन् नेविसंघका योद्धाहरू

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कम्युनिस्ट सरकारले ल्याएको दुई अध्यादेशको विरोधमा सडक प्रदर्शन गरेको छ ।

नेविसंघका पूर्वअध्यक्ष रञ्जीत कर्णको नेतृत्वमा एक दर्जन विद्यार्थीले काठमाडौंको नयाँबानेश्वरको मूल सडक प्रदर्शन गरेका हुन् । लकडाउनको बेवास्ता गर्दै नेविसंघका नेता तथा कार्यकर्ताहरूले बिहीबार प्रदर्शन गरेका छन् ।

उनीहरूले जनतालाई कोरोना भाइरसको संक्रमणविरुद्ध बचाउन बेला बेमौसमका दुई अध्यादेश ल्याएको भन्दै कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेका थिए ।

उनीहरूले कम्युनिस्ट सरकारविरुद्ध लेखिएको प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

कम्युनिस्ट सरकारले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई फुटाउने भन्दै राजनीतिक दल विभाजनसम्बन्ध अध्यादेश जारी गरेको थियो ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई संवैधानिक परिषदबाट हटाउन संवैधानिक निकायसम्बन्धी अध्यादेश सरकारले जारी गरेको थियो ।

सरकारले जारी गरेको अध्यादेशको नेपाली कांग्रेससहितका दलहरूले विरोध गर्दै आएका छन् ।

कांग्रेस मात्रै होइन स्वर्य सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले समेत ती दुई अध्यादेशको विरोध गरेका छन् ।

Published : Thursday, 2020 April 23, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया