दल फुटाउने अध्यादेश ल्याएको अर्को दिन नेकपाका शक्तिशाली नेताहरूले बुझाए ओलीलाई पत्र
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का झण्डै दुई जर्दन नेताहरूले प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बैठक बोलाउन माग गरेका छन् ।
सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई वटा अध्यादेश जारी तथा कोरोना भाइरसको संक्रमण रोकथामलगायतका विषयमा छलफल गर्न माग गर्दै नेकपाका २० जना स्थायी समिति सदस्यहरूले बैठकको माग गरेका हुन् ।
उनीहरू अध्यक्षद्वय ओली र दाहाललाई संयुक्त रुपमा पत्र लेखेर तत्काल स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन् ।
बैठक बोलाउन माग गर्नेहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, गणेश शाह, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, पम्फा भुसाल, वेदुराम भुसाल, देवेन्द्र पौडेल, भीमप्रसाद आचार्य, मणिचन्द्र थापा रहेका छन् ।
रघुजी पन्त, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, लीलामणि पोखरेल, चक्रपाणि खनाल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेलले समेत स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेर पत्रमा हस्तागर गरेका छन् ।
उनीहरूले कोरोना भाइरसको संक्रमणको गम्भीर स्वास्थ्य संकट र त्यसबाट सिर्जित समस्याहरू समाधान गर्ने बेला अध्यादेश ल्याएको भन्दै आक्रोश पोखेका छन् ।
नेपालको राजनीतिक प्रणाली तथा संविधानको मर्ममा असर पार्ने कानून संशोधन गर्ने अध्यादेश जस्तो संवदेनशील विषयमा पार्टीमा गहन र व्यापक छलफल गरिनुपर्ने उनीहरूको माग छ ।
स्थायी समितिको बैठकपछि केन्द्रीय कमिटीको बैठकमा सबै विषयमा छलफल गर्न उनीहरूले माग गरेका छन् । विद्यमान चुनौतीको सामना गर्न सामूहिक निर्णय र संकल्प गर्न उनीहरूले ओली र दाहाललाई दवाव दिएका छन् ।
कोरोना रोकथामका लागि पहल गर्ने बेला ओलीले दुई अध्यादेश ल्याएपछि आफ्नै पार्टीभित्र विवादमा परेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया