कांग्रेससहितका चार दलद्वारा संसद बोलाउन माग, ओलीलाई संसदमै र्याखर्याख पार्ने
काठमाडौं । नेपाली कांग्रेससहितका चार राजनीतिक दलले सर्वदलीय बैठकले सामाजिक दुरी कायम राखेर प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका छन् ।
ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार बसेको चार राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले संसदको बैठक बोलाउन माग गरेका हुन् ।
‘मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपतिबाट जारी दुई अध्यादेशहरूले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मूल मर्ममा आक्रमण गरेकोले सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाई तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ’, बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले दुई वटा अध्यादेशहरू ल्याएपछि सरकारभन्दा बाहिर रहेका दलहरूले विरोध गर्दै आएका छन् ।
‘वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको खड्गप्रसाद ओली सरकारले कोरोना संक्रमणको कारण देश लकडाउनको अवस्थामा रहेको बेला हठात् संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (तेस्रो संशोधन) अध्यादेश, २०७७ सम्बन्धी ऐनमा गरेको संशोधन सम्बन्धी अध्यादेशहरू वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन भएकोले यसको घोर निन्दा गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
‘ओली नेतृत्वको सरकारको लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पारी निरंकुश शासनतर्फ उन्मुख श्रृङ्खलावद्ध कदमहरुको पछिल्लो नाङ्गो कदमका रुपमा यी अध्यादेशहरुलाई हामीले लिएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यी दुवै अध्यादेश तत्काल फिर्ता लिन यो बैठक जोडदार माग गर्दछ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक शरतसिंह भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा बैठकमा सहभागित थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया