ओली सरकारलाई राजपाले पनि दिएन साथ, एक्लिए कम्युनिस्टहरू

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले कोरोना भाइरसको संक्रमणबाट जनतालाई बचाउने बेला कम्युनिस्ट सरकारले असामयिक र संवेदनहीन निर्णय गरेको भन्दै समग्र राजनीतिलाई नै कलंकित बनाएको टिप्पणी गरेको छ ।

राजपाका संयोजक शरतसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गरेर दुई अध्यादेश ल्याएर सरकारले बेमौसमको बाजा बजनाएको जनाएका छन् ।

राजपाले यस सरकारले प्रकारको अलोकतान्त्रिक, गैरसंवैधानिक र गैरजिम्मेवार निर्णय गरेको भन्दै राजपाले निर्णयको घोर भर्त्सना गरेको छ । राजपाले तत्काल अर्को निर्णय गरी अध्यादेश खारेज गर्न माग गरेको छ ।

राजपा नेपाल फुटाएर सरकारमा लैजाने भनेर चर्चा चलिरहेका बेला त्यस दलका संयोजक भण्डारीले खड्गप्रसाद ओली सरकारले ल्याएको अध्यादेशको औचित्यलाई नै खारेज गरिदिएको छ ।

राजपाले भनेको छ, ‘जनताले दिएको म्याण्डेट विपरित पूरै मुलुकलाई अस्थिर बनाइ राजनीतिप्रति वितृष्णा जगाउने गरि राजनीतिक दल विभाजन गर्ने भनेको ऐन संशोधन गरि ल्याइएको अध्यादेश जनभावना विपरित स्थिरता, स्थायित्व र आर्थिक समृद्धिको आफ्नै मान्यताविरुद्ध मुलुकलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएको स्पष्ट भएको छ ।’

‘संवैधानिक परिषदमा विपक्षी दलको नेतालाई भूमिकाविहीन बनाउने गरि ल्याइएको अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र देखिएको छ’, विज्ञप्तिमा संयोजक भण्डारीले भनेका छन्, ‘राज्यको हरेक ठाउँमा आफूखुसी निर्णय र नियुक्तिहरू गरि मुलुकलाई एकात्मकता, निरंकुशता र अधिनायकवादतर्फ लाने मनसाय उदाङगिएको छ ।’ राजपाले विधिको शासन र जनभावनाविरुद्ध संविधानको मर्म विपरित सर्वसत्तावाद लाद्ने कुचेष्टा छताछुल्ल भएको जनाएको छ ।

‘पहिचान, अधिकार र समावेशिताको लागि संघर्ष गर्ने पार्टी राजपा भएको र आफ्नो माग, मुद्धाप्रति दृढ संकल्पित रहेकोले यसखाले निर्णयले पार्टीलाई कुनै प्रकारको असर नपर्ने जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको निर्णयले गर्दा कुनै प्रकारको भ्रममा नपरी पार्टलाई कुनै प्रकारको भ्रममा नपरी कोरोना भाइरसको महामारीको घडीमा पूरै पार्टीपंक्तिलाई एकढिक्का भएर लकडाउनको पालना गर्न र आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान गर्दछौँ ।’

Published : Tuesday, 2020 April 21, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया