अध्यादेश खारेज गर सरकार, मिलेर कोरोना रोकथाम गरौँः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले हतारहतार गरी विषम परिस्थितिको फाइदा उठाउँदै “संवैधानिक परिषद (काम, कर्तय, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” र “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” गरी दुई वटा अध्यादेश जारी गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति जारी गरेर सरकारको हालको प्रमुख कार्य एवं प्राथमिकता भनेको कोरोना भाईरस नियन्त्रण, संक्रमण न्यूनीकरण र संक्रमितहरूको उपचारका लागि स्वास्थ्य सामग्री तथा उपकरणको व्यवस्था गरी परीक्षण एवं उपचार कार्यलाई तीब्रता दिनुपर्ने जनाएका छन् ।

खाँणले भनेका छन्, ‘दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिक मजदुर लगायत न्यून आय भएका नागरिकलाई राहत वितरण, बाटोमा अलपत्र भएका नागरिकको बासोवास एवं खानपिनको व्यवस्था तथा विदेशमा रहेका कोरोना भाइरस पीडित नेपालीको उद्दार तथा संरक्षण गर्नु हो ।’

‘यी सबै विषयलाई पन्छाएर वर्तमान सरकारले गलत नियतका साथ संविधानको मूल मर्म र भावना विपरित अध्यादेशहरू जारी गरेको छ’, प्रमुख सचेतक खाँणले भने, ‘सरकारको यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भर्त्सना गर्दछ ।’

‘संविधानका प्रावधानलाई उल्लंघन गर्दै जारी भएको अध्यादेशले संविधानलाई नै चुनौति दिएको छ’, उनले भने, ‘तसर्थ वदनीयतपूर्वक ल्याइएका अध्यादेशहरू तत्काल खोरज गर्न सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।’

‘लोकतान्त्रिक संविधान प्रतिकूल, यसका भावना र मर्म विपरितका कुनै पनि अध्यादेश जारी नगर्न र भविष्यमा त्यस्ता विधेयकहरू नल्याउन सरकारलाई सचेत गर्दछ’, कांग्रेसका प्रमुख सचेतक खाँणले भनेका छन् ।

‘संकटको यस घडी सबै स्वार्थभन्दा माथि उठेर देश र आमनागरिकको जीवन रक्षाको लागि नेपाल सरकारलाई गतिशील रहन नेपाली कांग्रेस आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Tuesday, 2020 April 21, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया