लकडाउनका बेला कम्युनिस्ट सांसद सुनुवारले देखाए मास्क उद्घाटनको ‘नौटंकी’

पलापु । दशैँका बेला पिङ उद्घाटन गरेर आलोचित भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारफेरि चर्चामा छाएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएका बेला नेकपाका सांसद सुनुवारले आफ्नो गृहजिल्ला ओखलढुंगामा एकजना व्यक्तिलाई मास्क मुखमा लगाइदिएर मास्क वितरणको उद्घाटन गरेपछि आलोचित भएका हुन् ।

बेलाबेला उट्पट्याङ कार्य गर्दै आएका सांसद सुनुवारले बाटोमा हिँड्दै गरेका बेला क्लवका पदाधिकारीले भनेपछि एक व्यक्तिलाई मुखमा मास्क लगाएर उद्घाटन गरेका थिए ।

मंगलबार सांसद सुनुवारले ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा पलापु युवा क्लवले वितरण गरेको मास्कलाई एक व्यक्तिलाई मुखमा लगाएर उद्घाटन गरेको सुमन घिभिरेले आफ्नो फेसबुकमार्फत जनाएका छन् ।

आफ्नै जिल्लामा अर्कैले बनाएको विकासका कार्यक्रम र पुलको उद्घाटन गरेको भनेर आलोचित हुँदै आएका सांसद सुनुवाले मास्क वितरण उद्घाटन गर्न समेत भ्याएको भन्दै आलोचना भएको छ । स्थानीयले लकडाउनका बेला आफ्ना जनप्रतिनिधिले राहत ल्याउनुपर्नेमा मास्क उद्घाटन गर्दै हिँडेको भनेर असन्तुष्टि जनाएका छन् ।

मास्क वितरण कार्यक्रममा नेकपाका ओखलढुंगा जिल्ला कमिटी सदस्य हरिप्रसाद घिमिरे, नेकपाका जिल्ला सल्लाहकारद्वय मेघबहादुर श्रेष्ठ र भवानप्रसाद घिमिरे, नेकपाका कार्यकर्ता बलबहादुर श्रेष्ठ, सुवास श्रेष्ठ, सौजनराज घिमिरे लगायतको उपस्थित रहेको थियो ।

युवा क्लवले स्वास्थ्य चौकी पलापु र स्वास्थ्य ईकाइ चम्पादेवी – २ लाई २००८ पिस मास्क, प्रहरी चौकरी पलापु चार सय मास्क हस्तान्तर गरेको भनेर नेकपाका कार्यकर्ता सुमन घिमिरले आफ्नो फेसबुकमा लेखेका छन् ।

यसैवीच चम्पादेवी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कुलबहादुर श्रेष्ठ र वडा नम्बर २ का वडाध्यक्ष विष्णु पुलामीले अलग–अलग विज्ञप्ति जारी गरेर सरकारको नीति विपरित सांसद यज्ञराज सुनुवारले मास्क वितरण गरेको आरोप लगाएका छन् ।

सरकारले स्थानीय तहमार्फत एकद्वार नीतिमार्फत कुनै पनि सहायता वितरण गर्न दिर्नेशन दिएको छ । आफ्नै सरकारको नीतिलाई उल्लंघन गरेर सांसद सुनुवारले व्यक्तिलाई मास्क लगाइदिएर उद्घाटन गरेको भन्दै आपत्ति जनाएका छन् ।

दुबै वडाध्यक्षले सांसद सुनुवार र पलापु युवा क्लवले वडामा २४ सय मास्क वितरणको गरेको जानकारी आफूहरूलाई नरहेको जनाएका छन् । वडाध्यक्षद्वय श्रेष्ठ र पुलामीले वडामा वितरण गरिने कुनै पनि राहत वडा कार्यालयलाई दिन सांसद सुनुवारसहितका संघ संस्था र व्यक्तिहरूसँग आग्रह गरेका छन् ।

Published : Wednesday, 2020 April 8, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया