‘कोरोना’बाट यी ठूला कम्युनिस्ट र बिचौलियाहरू मोटाए
काठमाडौं । कम्युनिस्ट सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको रोकथाम, उपचार र संक्रमण पत्ता लगाउने उपकरण खरिदमा अत्याधिक महँगामो सामग्री खरिद गरेपछि आलोचना भएको छ ।
सार्वजनिक खरिदको नियम उल्लंघन गर्दै बजार मूल्यभन्दा झण्डै दश गुणा बढी मूल्य तिरेर मन्त्री ढकालले चीनसँग बिचौलियामार्फत मेडिकल उपकरण खरिद गरेपछि विरोध भएको हो ।
लकडाउन घोषणा भएपछि बल्ल स्वास्थ्य मन्त्रालयले एक दिने कोटेशन जारी गरेर कसैले इच्छा नदेखाएको भन्दै मन्त्री ढकालले बिचौलियाहरूमार्फत सामग्री खरिद गरेका हुन् । आइतबार बिहान डेढ अर्बको सामान चीनबाट काठमाडौं आएको छ ।
स्वास्थ्य मन्त्रालयले बजारमा एक अमेरिकी डलर प्रतिगोटा पर्ने मास्क सात अमेरिकी डलरमा खरिद गरेको खुलेको छ ।
विपदका बेला अत्यावश्यक समान तथा उपकरणहरू खरिद गर्दा अन्तर्राष्ट्रिय टेण्डर गरेर प्रक्रिया पूरा गर्न त समय पुग्दैन । मुलुकहरूले गर्ने भनेको जुन देशको सामान खरिद गर्ने हो सोही देशसँग गभरमेन्ट टु गभरमेन्ट (जीटुजी) सम्झौता गरेर सामान आयात गर्न सक्छन् ।
सरकारले चीनसँग खरिद गरेका १८ विभिन्न चिकित्सकीय सामग्रीका लागि १ अर्ब ५० करोड रुपियाँ खर्चिएको छ ।
कोरोना भाइरसको उपचारका लागि चिकित्सकहरुलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा कबज (पीपीई) कोरोना परीक्षण किट्स, मास्क, चस्मा लगायतका १८ आइटम सरकारले बजार मूल्यभन्दा चारदेखि सात गुणासम्म बढी तिरेर खरिद गरेको भेटिएको छ ।
नेपाली एजेन्ट ओम्नीटेक र एक चिनियाँ कम्पनीबाट खरिद गरिएका उक्त साम्रगीहरु आइतबार बिहानमात्रै नेपाल भित्रिएका छन् ।
एक महिनाअघिसम्म १० रुपैयाँ प्रतिगोटामा खुद्रा किन्न पाइने सर्जिकल मास्क अहिले सरकारले प्रतिगोटा ३८ रुपैयाँमा १० लाख थान खरिद गरेको छ । एन ९५ मास्क सरकारले प्रतिगोटा ७ अमेरिकी डलर अर्थात ८४० रुपियाँमा खरिद गरेको छ ।
आइतबार जहाजबाट चीन सरकार र अलिबाबा फाउण्डेशनले नेपाललाई सहयोग गरेको सोही एन ९५ मास्कको मूल्य १६.५० आरएमबी (चिनियाँ रुपियाँ) अर्थात नेपाली २ सय ८० रुपियाँ परेको चिनियाँ दूतावासले जारी सहयोग नोटमा उल्लेख छ ।
स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा कवच (पीपीई) पनि सरकारले प्रतिगोटा करीब ५ हजार रुपियाँमा खदिर गरेको छ । जबकि चिनियाँ दूतावासले दिएको पीपीईको मूल्य नेपाली रुपियाँ २१ सय मात्रै भएको उल्लेख गरेको छ ।
सरकारले डिस्पोजेवल सुज कभर समेत २ डलर अर्थात २ सय ४० रुपियाँमा किन्न लागेको छ । जबकि यो सुज कभर नेपाली बजार मूल्य ५० रुपियाँ हो ।
कोरोना भाइरस टेष्ट किटको बजार मूल्य १० डलर अर्थात १२ सय नेपाली रुपियाँको वरिपरि छ । तर सरकारले ३८ डलर अर्थात ४५ सय रुपियाँमा खरिद गरेको छ ।
थर्म मिटरको बजार मूल्य २५ डलर पर्छ । ६५ डलर खर्चिएर सरकारले १५ सय थान खरिद गरिएको छ । बजार मूल्य र सरकारले खरिद गरेको मूल्यमा ६० हजार फरक देखिएको छ ।
प्रोटेक्टिभ चस्माको बजार मूल्य तीन डलर हो । सरकारले १८ डलर खर्चिएर एक लाख थान गरिद गरेको छ । यसमा १५ लाख फरक देखिन्छ । डिस्पोजल गाउन्सको मूल्य पाँच डलर पर्नेमा १६ डलर खर्चिएर एक लाख थान गरिद गर्दा ११ लाख फरक देखिएको छ ।
चीनको गोन्जाओमा विगत १५ वर्षदेखि व्यापार गर्दै आएका नविन विकले सरकारले चिकित्सकीय समाग्री खरिद गर्दा चार गुणा बढी मूल्य तिरेको दाबी गरेका छन् ।
‘म १५ वर्षदेखि यही व्यवसायमा छु। अहिले सरकारले खरिद गरेका सामानमा चार गुणाभन्दा बढी तिरेर किनेको देखिएको छ। यो ठूलो घोटाला हो,’ गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य समेत रहेका उनले भने, ‘नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी सामानहरु मगाउन परे सम्पर्क गरून, म अहिले सरकारले खरिद गरेको मूल्यभन्दा चार गुणा सस्तोमा सामान उपलब्ध गराउन तयार छु ।’
सामान खरिदमा भएको चर्को मुल्यका विषयमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग सम्पर्क गर्न खोज्दा उनीहरू बोल्न चाहेनन् । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले छिटो खरिद गर्दा केही महङ्गो परेको स्वीकार गरेपनि त्यसको विधि र प्रक्रियामा प्रष्ट जवाफ दिन चाहेनन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया