देउवा निवास सुनसान, कांग्रेसका सबै कार्यक्रम स्थगित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक र समय लिएर आएका नेता तथा कार्यकर्तालाई मात्रै भेट्न थालेका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाले भेटघाटलाई सीमित तुल्याएका हुन् । बिहानैदेखि कार्यकर्ताको भीडभाड हुने देउवाको निवास सुनसान जस्तै छ ।
सभापति देउवासँग नेताबाहेक कार्यकर्ताको भेटघाट पातलिएको छ । स्वकीय सचिव भानु देउवाले अत्यावश्यक र समय लिएर आएका कार्यकर्तासँग मात्रै सभापति देउवाले भेटघाट गर्ने गरेको बताए । देउवा निवासमा कार्यकर्ता पनि आउन छाडेका छन् ।
सभापति देउवाले पार्टीका कार्यक्रमसँगै पाँच जिल्लाको दौडाहा पनि स्थगित गरेका छन् । उनी आफ्नो समूहका नेताहरूसँग निवासमै छलफल र टेलिफोनमा व्यस्त रहने गरेका छन् ।
पार्टीका धेरैजसो नेता अहिले बाहिर निस्कन छाडेका छन् । खासगरी नेतृत्व र पदाधिकारीका आकांक्षीहरूको महाधिवेशन लक्षित जिल्ला दौडाहा स्थगित भएको छ ।
कोभिड–१९ को सम्भावित संक्रमणको जोखिमका कारण मुलुक ठप्प भइरहेका बेला नेताहरूले दैनिकी र व्यवहार बदल्न थालेका छन् ।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा मूल गेटबाट पस्नासाथ साबुन पानीले हात धुनुपर्छ । हात धोइसकेपछि सेनिटाइजर प्रयोग गर्नुपर्छ । अनि मात्रै भित्र जान पाइन्छ ।
पौडेलले केही दिनअघि अत्यावश्यकबाहेक भेटघाटमा नआउन र टेलिफोनबाटै संवाद गर्न आह्वान गर्दै विज्ञप्ति निकालेका थिए ।
पौडेलले पाल्पा, स्याङ्जा, पर्वत, म्याग्दी, चितवनलगायत जिल्लाका कार्यक्रम स्थगित गरेका छन् ।
महामन्त्री डा.शशांक कोइरालाले पनि निर्धाति कार्यक्रमहरू स्थगित गरी सामान्य भेटघाट मात्रै गरिरहेका छन् ।
महामन्त्री डा.कोइरालाका स्वकीय सचिव भरत तिवारीले पहिला जस्तो भेटघाट नरहेको बताए ।
कोभिड–१९ को संक्रमण जोखिमकै कारण कांग्रेसले शुक्रबार गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस औपचारिक रूपमा मनाएन । कोइरालाको गृहनगर सुनसरीमा विशेष कार्यक्रम राखिएको थियो ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूले आफ्ना कार्यक्रमहरूलाई रोकेर संक्रमणबाट जोगिन पूर्वसर्तकता अपनाएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया