देउवाद्वारा चिकित्सकहरूसँग परामर्श, कोरोनाविरुद्ध सचेतनाका लागि अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणबाट जनतालाई कसरी बचाउने भन्ने विषयमा नेपाल मेडिकल एशोसिएसनका पदाधिकारी तथा वरिष्ठ चिकित्सकहरूसँग परामर्श गरेका छन् ।

सभापति देउवाले बुधबार आफ्नै निवास बुढानिलकण्ठमा मेडिकल एशोसिएसनका नवनिर्वाचित पदाधिकारी र वरिष्ठ चिकित्सकहरूसँग कोरोना भाइरसको संक्रमणबाट नेपाल र नेपालीहरूलाई कसरी बचाउँने भन्ने विषयमा परामर्श गरेका हुन् ।

उनले कोरोना भाइरसको संक्रमणबाट जनतालाई बचाउन कांग्रेसले के कस्तो र कसरी भूमिका निर्वाह गर्न सक्छ भनेर जिज्ञासा राखेका थिए ।

चिकित्सकहरूको टोलीले सरकार र सरकारी निकायले कोरोना भाइरसको महामारी शुरु हुने समयमा जुन किसिमको तयारी गरेको थियो त्योभन्दा अहिलेसम्म खासै कुनै नयाँ तयारी नगरेको भनि चिन्ता र चासो व्यक्त गरेका छन् ।

चिकित्सकहरूले कोरोना भाइरसको संक्रमण नेपालमा फैलिए अस्पतालबाट साधारण बिरामी र कोरोनाका बिरामीलाई अलग राखेर उपचार गर्न विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् ।

चिकित्सकहरूले राज्यका तर्फबाट कोरोना भाइरसको प्रकोप भित्रिएको अवस्थामा चिकित्सकले समेत आफ्नो व्यक्तिगत सुरक्षाको लागि अत्यावश्यक औजारहरूको व्यवस्था गर्न माग गरेका छन् ।

सभापति देउवाले केही दिन अघि पार्टीको तर्फबाट कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउँदै सुझावहरू दिएको बताएका छन् ।

देउवाले सरकारबाट कोरोना भाइरस रोकथामका लागि अपनाइएको उपायको प्रशंसा गर्दै कमिकमजोरी भए त्यसलाई सच्याएर अगाडि बढ्न पनि सुझाव दिएका छन् ।

उनले दैनिक ज्यालादारी गरेर साँझ बिहानको छाक टार्दै आएका जनताको भरणपोषणमा समेत चिन्ता जनाएका छन् । उनीहरूका लागि उचित व्यवस्था गर्न देउवाले माग गरेका छन् ।

देउवाले कोरोना भाइरसको रोकथामका अतिरिक्त यसबाट मुलुकमा पर्न सक्ने आर्थिक प्रभाव, निजी क्षेत्रका उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था, गरिवी जनताको दैनिक गुजारा, बैंक तथा वित्तीय संस्थाको लगानीको सुरक्षा, व्यापारीको व्याज तथा ऋण मिनाह लगायतका विषयमा आफूले विज्ञप्ति जारी गरेर सरकारको ध्यानाकर्षणको गरेको चिकित्सकहरूलाई जानकारी गराएका थिए ।

कांग्रेसका पदाधिकारीहरूसँग पनि चिकित्सकहरूले अपरान्ह पार्टी मुख्यालय सानेपामा छलफल गरेका थिए ।

चिकित्सकहरूको परामर्श पश्चात सभापति देउवाले देशभरिका पार्टी जिल्ला कार्यसमिति, विभिन्न भातृ संस्था र शुभेच्छुक संस्थाका सदस्यहरूलाई गाउँ, वडामा कोरोना भाइरसबाट बच्न र बचाउन व्यापक रुपमा जनचेतना अभियान संचालनका लागि अपील गरेका छन् ।

Published : Wednesday, 2020 March 18, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया