राप्रपाका केन्द्रीय नेताहरू कांग्रेसमा प्रवेश गर्दै, दुबै दलबाट वार्ता टोली गठन

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।

ठूलो संख्यामा राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेशको तयारीमा रहेको सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामाले जानकारी दिए । राप्रपाका केन्द्रीय सदस्य र जिल्लास्तरकै ठूला नेताहरू कांग्रेसमा प्रवेश गर्ने इच्छा देखाएपछि कांग्रेस र राप्रपाले वार्ता टोली नै बनाएर सम्वाद गरेको छ ।

पार्टी एकतालाई टुंगामो पु¥याउन कांग्रेसले पाँच सदस्यीय वार्ता टोली गठन भएको छ । वार्ता टोलीमा सभापति लामाका साथै क्षेत्र नम्बर २ का सभापति आइतमान तामाङ, जिल्ला उपसभापति शिव सुनार, जिल्ला सह–सचिव अनुप न्यौपाने र राजेन्द्रमान ताल्चाभँडेल रहेका छन् ।

राप्रपाले पूर्व राज्यमन्त्री तथा राप्रपा केन्द्रीय सदस्य विष्णुविक्रम थापा, राप्रपा संयुक्तका सिन्धुपाल्चोक जिल्लाका पूर्वजिल्ला अध्यक्ष ईन्द्रबहादुर बाँनिया, राप्रपा शिक्षा परिषदका अध्यक्ष राजकुमार भट्टराई लगायत रहेको वार्ता टोली बनेको छ ।

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ मा राप्रपाको राम्रै पकड रहेको छ । राप्रपाका जिल्लाभरि एक हजारदेखि १५ सय नेता कार्याकर्ता कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको कांग्रेस सभापति लामाले जानकारी दिए ।

राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याउन सिन्धुपाल्चोक कांग्रेसले काठमाडौंमा बृहत अन्तक्रिया समेत गरेको थियो ।

अन्तरक्रियामा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

यता, राप्रपाका नेता सुनिलबहादुर थापाको नेतृत्वमा राप्रपाका देशभरिका नेता तथा कार्यकर्ता एकसाथ कांग्रेसमा प्रवेशको अन्तिम तयारी भइरहेको छ ।

पूर्व राज्यमन्त्री थापाले ०५१ को मध्यावधी चुनावमा क्षेत्र नम्बर दुईबाट जितेका थिए । उनले एमालेका सुवास कर्माचार्यलाई हराएका थिए ।

०५६ मा थापाले चुनाव पराजित भएका थिए । उनले सुवास कर्माचार्यसँग चुनाव हारेका थिए ।

०७० सालको चुनावमा पशुपति शम्शेर राणालाई थापाले असहयोग गरेको आरोप छ । पशुपति शम्शेर राणाले पनि थापाले असहयोग गरेको आरोप लाग्दै आएको छ ।

Published : Tuesday, 2020 March 17, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया