कांग्रेस केन्द्रीय सदस्य चौधरीले राजीनामा फिर्ता लिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको अनुशासन समितिबाट राजीनामा फिर्ता लिएका छन् ।

कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले चौधरीले अनुशासन समितिबाट राजीनामा फिर्ता लिएको जानकारी दिए । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा नेता सिटौलाले अनुशासन समितिबाट चौधरीले राजीनामा फिर्ता लिएको बताए ।

‘अनुशासन समितिको सदस्यबाट उमाकान्त चौधरीले राजीनामा दिनुभएको थियो । उहाँसँग मेरो कुरा भयो । जुन कारणले राजीनामा दिनुभएको थियो त्यसबाट भाग्नु हुँदैन भनेर सम्झाएँ’, सिटौलाले भने, ‘त्यसपछि उमाकान्त चौधरीजीले राजीनामा फिर्ता लिनुभएको छ ।’

चौधरीले आफ्नो राजीनामा नेता सिटौलालाई बुझाएका थिए । चौधरीको राजीनामा आफूसँग रहेको भन्दै सिटौलाले भने, ‘उहाँको राजीनामा सभापतिलाई मैले बुझाएको छैन । राजीनामा फिर्ता लिएको जानकारी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई जानकारी दिनेछु ।’

चौधरीलाई सबैले लखेटेको बताएका सिटौलाले भने, ‘समस्याबाट भाग्ने होइन । सामना गरेर जाने हो ।’ अनुशासन समितिमा चौधरी नेता सिटौलाको सिफारिसमा सदस्यमा मनोनीत भएका थिए ।

Published : Monday, 2020 March 16, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया