लाकुरी भञ्ज्याङका असईको कता–कता कनेक्सन ?

ललितपुर । ललितपुर जिल्लामा प्रहरी सहायक निरीक्षक (असाई) मोहनदेव जोशीले लाकुरी भञ्ज्याङका स्थानीयलाई दुःख दिएको भन्दै गुनासो बढेको छ ।

महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङका ईञ्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक जोशीले ‘माथिसम्म पुर्‍याउनुपर्छ’ भनेर अबैध असुली गरेको आरोप लागेको हो । असई जोशीले ‘कालिज’ चरामा पनि अलिक धेरै लोभ देखाउने गरेको आरोप पनि लागेको छ ।

‘कालिज’ नामक चरा र अबैध ढुंगाखानीको रकम नपाएको झोँकमा असई जोशीले स्थानीय पूर्ण लामालाई हातहतियार तथा खरखजानाको मुद्धा नै चलाएको आरोप छ । लामा लाकुरी भञ्ज्याको एउटा होटेलबाट पक्राउ परेका थिए । असई जोशीले पछि लामाको घरमा छापामारेर बन्दुक बरामद गरेको स्रोतले जनाएको छ ।

‘असई मोहनदेव जोशीलाई दैनिक एउटा कालिज दिने सर्तमा पूर्ण लामाले बन्द राखेका थिए’, स्रोतले भन्यो, ‘असई जोशी र लामावीच खटपट भएपछि लामा पक्राउ परे ।’

लामालाई छुटाउन पनि असई जोशीले नै कानून व्यवसायी खोजेर सहयोग गरेको चर्चा लाकुरी भञ्ज्याङमा ब्यापक छ । धरौटीमा छुट्ने बेला लामाको ‘खाजा खर्च’ भनेर झण्डै पाँच लाख खर्च भएको स्रोतले जनाएको छ । त्यो पाँच लाख तिर्नका लागि लामाले आफ्नो जग्गा बिक्री गर्न मान्छे खोज्दै गरेको स्रोतले जनाएको छ ।

असई जोशीले घरपालुवा मदिरा उत्पादन गर्नेहरूसँग पनि अबैध असुली गरेको आरोप छ । स्थानीय एक पीडितले भने, ‘घर गुजारा चलाउन घरपालुवा मदिरा बनाएर बिक्री गर्ने गरेका छौँ । लाकुरी भञ्ज्याङको प्रहरीले एक जर्किन मदिराबाट दुई सय रुपियाँका दरले पैसा लिन्छन् ।’ जोशीले स्थानीय रिसोर्ट, होटेल तथा पिकनिक स्पोटहरूसँग पनि प्रहरीलाई खर्च भनेर असुली गर्ने गरेको आरोप स्थानीयको छ ।

स्थानीयलाई दुःख दिएको विषयमा महालक्ष्मी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष बलराम लामासम्म मौखिक उजुरी परेको छ ।

नेकपा निकटका वडाध्यक्ष लामाले पनि लाकुरी भञ्ज्याङको प्रहरीलाई केही गर्न सकेका छैनन् । वडाध्यक्ष लामालाई स्थानीयले दवाव दिएर लाकुरी भञ्ज्याङ प्रहरीको हर्कतमा नियन्त्रण गर्न माग गर्दै आएको एक पीडितले बताए ।

‘असई जोशीका विषयमा वडाध्यक्षलाई मौखिक उजुरी दिएका छौँ’, एक पीडितले भने, ‘हाम्रो कुराको सुनुवाई भएको छैन । कतै वडाध्यक्ष बलराम लामा र असई मोहनदेव जोशीवीच साँठगाँठ त छैन भनेर आशंक हुन थालेको छ ।’

वडाध्यक्ष बलराम लामाले लाकुरी भञ्ज्याङ प्रहरीका विषयमा केही कुराहरू आफूसमक्ष आएको बताए । उनले भने, ‘सबै कुरा भन्न मिल्दैन । केही कुरा आएका होलान् । मैले सम्बन्धित निकायमा नै कुरा गर्छु ।’ उनले जनताको काम गर्नु आफ्नो दायित्व भएको बताए ।

लाकुरी भञ्ज्याङ प्रहरी प्रभागका प्रमुख एवम् असाई मोहनदेव जोशीले आफूलाई लागेको आरोपहरूमा कुनै सत्यता नरहेको बताए । ‘म आएको चार महिना भयो । यहाँ आउनुभन्दा पहिला सानेपामा थिएँ’, उनले भने, ‘आरोप लगाउनेहरूले लगाएका होलान् । कुनै गलत कार्य भएको छैन । हुन पनि दिनेछैन ।’

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकराज राईले लाकुरी भञ्ज्याङ प्रहरीको विषयमा आफूलाई कुनै उजुरी नआएको बताए । ‘हामी जनताको सेवा गर्न बसेका हौँ । कुनै त्यस्तो समस्या भयो भने मलाई सिधै भन्दा हुन्छ । मेरो फोन सधैँ खुला छ’, एसएसपी राईले भने, ‘लाकुरी भञ्ज्याङ मात्रै होइन ललितपुरभित्र हुने कुनै पनि गलत कुरालाई छुट हुँदैन । प्रहरी कर्मचारी वा गैह्र कानूनी कार्य गर्नेलाई कारबाही हुन्छ ।’

Published : Sunday, 2020 March 15, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया