पूर्वसभामुख नेम्वाङलाई इलाममा झट्का, गाउँका कार्यकर्ता कांग्रेसमा प्रवेश

इलाम । इलाम जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न दल परित्याग गरेर दर्जनौँ नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

माङ्सेबुङ्ग गाउँपालिकामा नेकपा, समाजवादी पार्टी र जनमुक्ति पार्टीका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपाका नेता आकाश सम्बहाम्फेको नेतृत्वमा दर्जनौं नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । उनले कम्युनिस्टहरूले झुठको खेती गरेको आरोप लगाए । ‘नेकपाले जनचाहना अनुसारको काम गर्न सकेन’, उनले भने, ‘झुटको राजनीति गरेकाले पार्टी त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छौँ ।’

सम्बहाम्फे स्थानीय तहमा नेकपाका तर्फबाट लोकप्रिय नेताका रुपमा परिचित छन् । उनी तत्कालीन बाँझो गाविसका युवा संघका सचिव पनि हुन् ।

इलामको पश्चिम भेगमा पर्ने यो क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचनमा पूर्वसभामुख तथा नेकपाका नेता सुवास नेम्वाङले जितेका थिए । प्रदेशसभामा पनि नेकपाले नै जितेको थियो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व सांसद नगेन्द्र कुमालले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

कुमालका अनुसार माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा नेकपाबाट १० जना कांग्रेसमा प्रवेश गरेका छन् ।

समाजवादी पार्टी र जनमुक्ति पार्टीबाट ५७ जनाले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा नेकपाबाट आकाश सम्वाहाम्फे, विजय राई, निश्चल लिम्बु लगायत १० जना छन् ।

समाजवादी पार्टी र जनमुक्ति पार्टीबाट सेसेहाङ शेर्मा, खगेन्द्र राई, भक्तराज शेर्मा, फासुहाङ लावती, पुस्कर आङ्गदाङ्बे, राम आङबुहाङ्ग, युगवहादुर थेगिम, उजा माबुहाङ्ग, बिक्रम सिवु, खगेन्द्र मगर, बुद्धिमान साङ्गपाङ, भवानी लाबुङ्ग, सम्झना फागो, नेत्र बहादुर सुक्वा लगायत ५७ जना रहेको तरुण दलका नेता रनमान थेबेले बताए ।

कांग्रेस प्रवेश गर्नेमा अधिकांश गाउँ तहका नेता तथा कार्यकर्ता हुन् ।

कांग्रेसको भातृसंस्था दरुण दलको वडा गठनको लागि आयोजित कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

कार्यक्रममा माङ्सेबुङ गाउँपालिकाका पार्टी सभापति ईन्द्र सम्बाहाम्फे, सचिव धडकन लिम्बु, लगायतको उपस्थित थियो ।

भेलाले माङ्गसेबुङ गाउँपालिकाको वडा नम्बर ५ को तरुण दलको अध्यक्षमा पदमकुमार लिम्बुसहित २१ जनाको कार्यसमिति निमार्ण गरेको छ ।

Published : Sunday, 2020 March 15, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया