अब सिद्धिने पालो कम्युनिस्ट र ओली प्रवृत्तिको छः बालकृष्ण खाँण
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकबाट सिद्धिने पालो कम्युनिस्टहरू र ओली प्रवृत्तिको आएको बताएका छन् ।
ललितपुरमा शनिबार नेपाल विद्यार्थी संघ युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजद्वारा आयोजित नव आगन्तुक विद्यार्थीको स्वागत, सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले कांग्रेसलाई सिध्याउँछु भन्नेहरू आफू सिद्धिएको चेतावनी दिए ।
‘प्रधानमन्त्री खड्गप्रसाद ओलीजीले जनताको अधिकार, लोकतन्त्र र संविधान मान्दैन भन्नु भएको छ । ओलीजीले कांग्रेसलाई सिध्याउँछु भनेर लाग्नुभएको छ’, उनले भने, ‘कांग्रेस सिद्धिदैन । अब सिद्धिने पालो कम्युनिस्टको आएको छ । ओलीजीको आएको छ ।’
खाँणले नेपाली जनता लोकतन्त्रको पक्षमा रहँदासम्म कांग्रेस कहिल्यै पनि नसिद्धिने बरु कम्युनिस्ट र ओलीजीहरू सिद्धिने बताए । नेता खाँणले नयाँ पुस्ताले राष्ट्रियताको लागि संघर्ष गर्नुपर्ने बताए ।
‘नयाँ पुस्ताले लोकतन्त्रलाई सबल र सुदृढ बनाउनेछ’, उनले भने, ‘नेपालको मालिक नेपाली जनता हुन् । प्रधानमन्त्री मालिक होइन ।’
नेपाली कांग्रेसका नेता खाँणले प्रधानमन्त्री ओली देशको सबैभन्दा ठूलो हाँस्य कलाकार रहेको बताए । ‘ओलीजी नै ठूलो कलाकार हुनुहुन्छ’, उनले भने, ‘ओलीजी नै ठट्टा गरेर देशलाई मजाक बनाइरहनुभएको छ ।’
‘देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्था छ । यसलाई हामीले ल्याएको हो’, खाँणले भने, ‘लोकतन्त्र जनतालाई बलियो बनाउन ल्याएका हौँ । जनताप्रति उत्तरदायि बन्ने हो ।’
‘कम्युनिस्ट सरकार जनताप्रति उत्तरदयी बनेको छैन । संविधानको रक्षा गर्न सकेको छैन’, उनले भने, ‘जनता र संविधानको रक्षा गर्नु पहिलो दायित्व हो । ओली सरकारले माधवअधिकार, प्रेस स्वतन्त्रताको लागि संकुचन हुने खालको गतिविधि गरिरहेको छ ।’
‘जनताले लोकतन्त्रका लागि कुर्बानी गरेका हुन् । राणा शासन थियो । राजा थिए । उनीहरूसँग सबै साधन स्रोत थियो । तैपनि सिद्धिए’, उनले भने, ‘पञ्चायत पनि टिक्न सकेन । ज्ञानेन्द्र पनि शक्तिशाली थिए । राजा आफै प्रधानमन्त्री पनि भए । तर, टिक्न सकेनन् ।’
खाँणले भने, ‘जनता र कांग्रेस सिद्धिएन । सिद्धिए त केव राणा र राजा’, उनले भने, ‘गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र कांग्रेस सिद्धाउन खोजियो । उनीहरू सिद्धिएनन् । प्रजातन्त्र सिद्धिएन । सिद्धिए केव ज्ञानेन्द्र शाह ।’

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया