कांग्रेस भएर कम्युनिस्ट सरकारसँग लसपस गरेपछि शाहलाई हटाउन देउवालाई दवाव

काठमाडौं । कम्युनिस्ट सरकार ‘पशुपतिको साँढे’ जस्ते भयो भनेर आलोचना भइरहेको छ । यस्तो अवस्थामा संसदको सार्वजनिक लेखा समिति सक्रिय हुनुपर्ने थियो । तर, लेखा समिति सुतेर बसेको छ ।

समितिका सभापति भरतबहादुर शाहले कांग्रेसलाई फाइदा हुने गरेर कुनै पनि निर्णय वा छलफल चलाउन सकेका छैनन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लेखा समिति पाएको छ ।

लेखा समितिमा कांग्रेसले सांसद शाहलाई सभापति बनाएको छ । सभापति शाहले कम्युनिस्ट सरकारका गलत कुराहरूमा छलफल चलाएर जनता सामक्ष सार्वजनिक गर्नुपर्नेमा सिन्को पनि भाँच्न सकेका छैनन् ।

हालै सार्वजनिक भएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सभापति शाहले प्रभावकारी रुपमा छलफल चलाउन सकेनन् । शाहले एनसेल प्रकरणदेखि वाइडबडी काण्डमा समेत कुनै ठोस निर्णय गर्न सकेनन् ।

कांग्रेसका सांसद र नेताहरूले सभापति शाहलाई लेखा समिति प्रभावकारी रुपमा चलाउन सुझाव दिँदा शाहले ‘तिमीहरूले मलाई सिकाउने होइन’ भनेर रुखो स्वरमा जवाफ दिने गरेका छन् ।

सभापति शाहले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणसँग समितिको गतिविधि र बैठकहरूका बारेमा परामर्श गर्नुपर्ने थियो । तर, शाहले प्रमुख सचेतक खाँणसँग कुनै पनि विषयमा परामर्श नगरेपछि कांग्रेसको लेखा समितिमाथि गम्भीर प्रश्न उठेको छ ।

सभापति शाहको काम भनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूसँग मिलेर कमिशनको चक्कर चलाउने मात्रै गरेको आरोप छ । यसको उदाहरण सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा देखिएको छ ।

सभापति शाहले दोषीलाई कारबाही गर्न दवाव दिनुको साटो लेखा समितिका सदस्यहरूलाई भ्रष्टाचारको आरोप लगाएको भन्दै अडियो टेप सार्वजनिक गर्नेलाई कारबाही गर्न भन्दै प्रहरीको सीआईबीलाई पत्र लेखेका छन् ।

हिम्मत गरेर ७० करोडको मन्त्रीको कमिशनको काण्डको पर्दाफास गर्ने व्यक्तिलाई संरक्षण गर्नुको साटो सभापति शाहले कसका लागि काम गरिरहेका छन् भनेर प्रश्न उब्जिएको छ ।

अडियो टेप सार्वजनिक भएको अर्को दिन लेखा समितिको बैठक राखेर सभापति शाहले अडियो टेप सार्वजनिक गर्ने व्यक्तिलाई कारबाहीको माग राखेर सीआईबीलाई पत्र पठाए ।

यो कुरा थाहा पाएपछि नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले आपत्ति जनाए । खाँणले शाहलाई केही नभनेर समितिका सदस्य डा.मीनेन्द्र रिजाललाई फोन गरेर लेखा समितिले के निर्णय गरेको हो भनेर प्रश्न गरेका थिए ।

लेखा समितिका सभापति शाहको हर्कतबाट कांग्रेसका प्रमुख सचेतक खाँण खुसी छैनन् । सभापति शाह र खाँणवीच बोलचालको अवस्था नै छैन । सभापति शाहले कम्युनिस्ट सरकारलाई फाइदा हुने गरेर काम गर्न थालेपछि कांग्रेस संसदस्य दलको बैठकमा समेत कुरा उठेको छ ।

केही सांसदहरूले शाहलाई सभापतिबाट हटाएर डा.मीनेन्द्र रिजाललाई सभापति बनाउन माग गर्न थालेका छन् ।

पछिल्लो समय सभापति शाहले कमिशनको चक्करमा लागेर राम्रा विषयहरूलाई समेत गायब बनाउन थालेको आरोप छ । शाहले राम्रोसँग काम गर्ने हो भने कम्युनिस्ट सरकारलाई पसिना छुटाउन सक्ने धेरैको भनाइ छ ।

तर, सभापति शाहले आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन् । उनको यो हर्कतको उजुरी सभापति शेरबहादुर देउवासम्म पुगेको छ ।

सभापति देउवा पनि शाहको कार्यबाट सन्तुष्ट छैनन् । अहिले आएर सभापति शाहलाई हटाउन पक्षमा देउवा छैनन् । शाहलाई सभापतिबाट हटाउँदा गलत सन्देश जाने भनेर देउवा चुप लागेर बसेका हुन् । तर, अधिकांश सांसदहरूले शाहलाई हटाएर उपयुक्त सांसदलाई सभापति बनाउन देउवालाई दवाव दिँदै आएका छन् ।

Published : Saturday, 2020 March 7, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया