गच्छदारले बनाए ज्ञानेन्द्र शाहका मन्त्रीलाई कांग्रेसको केन्द्रीय सदस्य

काठमाडौं । राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा सहायक मन्त्री र जिल्ला सभापति बनेका गोपाल दहित नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

तत्कालीन समयमा राजा ज्ञानेन्द्र शाहसँग निकट मानिने दहितलाई शाहीकालमा वातावरण तथा जनसंख्या सहायक मन्त्री बनाइएको थियो । दहित सहायक मन्त्री बनाउनुभन्दा पहिला बर्दिया जिल्लाको जिल्ला विकास समितिको सभापतिमा मनोनीत गरिएको थियो ।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सिफारिस र दवावमा सभापति शेरबहादुर देउवाले शुक्रबार दहितलाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

सहायक मन्त्री बनेका दहितलाई पुनः राजा ज्ञानेन्द्र शाहले जिल्ला विकास समितिको सभापति बनाएका थिए । मन्त्री खाइसकेका दहित जिविसको सभापति बनेपाछि पदको लोभ गरेको भन्दै आलोचना भएको थियो ।

दहित राज ज्ञानेन्द्र शाहको शासन ढलेपछि थारु आन्दोलनमा प्रवेश गरेका थिए । थारु आन्दोलनबाट दोस्रो संविधान समानुपातिकबाट सभासद समेत बनेका दहितको त्यसपछि भाग्य खुलेको थियो ।

विजयकुमार गच्छदारको तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा दहितले आफ्नो पार्टीलाई मिसाएका थिए । गच्छदारको दलमा मिसिएपछि दहित भूमिसुधार मन्त्री बनेका थिए ।

गच्छदारको दल नेपाली कांग्रेसमा प्रवेश गरेपछि दहित पनि कांग्रेसमै आएका थिए । प्रतिनिधि सभाको निर्वाचनमा दहित बर्दिया जिल्लाबाट उम्मेदवार समेत बनेका थिए ।

दहितले जित्न सकेनन् । प्रतिनिधि सभाको निर्वाचनमा दहित पराजित भएका थिए ।

Published : Friday, 2020 March 6, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया