‘नमस्कार’ नपाएपछि यी कम्युनिस्ट मन्त्रीले हटाए सचिवसहितका कर्मचारी

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका एकजना मन्त्रीको व्यक्तिगत सनकका भरमा सचिवदेखि उपसचिवहरूसम्मको सरुवा गरेको खुलासा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आफूलाई नमस्कार नगरेको अभियोगमा उच्च तहका कर्मचारीहरूको सरुवा गरेको एकजना पीडित उपसचिवले बताए ।

मन्त्री त्रिपाठीले नमस्कार नगरेका कारण मन्त्रालयका उपसचिव, सहसचिव र सचिवहरूको सरुवा गरेको आरोप लागेको छ ।

आइतबारको मन्त्रिपरिषद बैठकले संघीय मामिला मन्त्रालयका सचिव यादव कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा गरेको छ ।

सरकारले अरु सचिवको सरुवा पनि गरेको छ । तर, सचिव कोइरालाको सरुवा भने मन्त्री त्रिपाठीको पदबहालीको कार्यक्रममा घडा नराखेको र नमस्कार नगरेबापत नै भएको मन्त्री निकट उच्च स्रोतले जनाएको छ ।

मन्त्री त्रिपाठी निकट स्रोतले भन्यो, ‘मन्त्रीज्यूको स्वागतको तयारी नगर्ने, सामान्य मर्यादा पनि नराख्ने, नमस्कार पनि नगर्ने यस्ता कर्मचारीहरूसँग काम गर्न सकिँदैन । त्यही भएर सचिव यादव कोइरालालाई सरुवा गरिएको हो ।’

मन्त्री त्रिपाठीले पदबहालीका क्रममा आफ्नो भब्य स्वागत नभएपछि त्यतिबेलै आफ्ना निकटहरूसँग सहसचिवदेखि सबैको सरुवा गर्ने भनेका थिएको स्रोतले जनाएको छ ।
लालबाबु पण्डित संघीय मामिला मन्त्री हुँदाका प्रायः सबै सहसचिवदेखि सचिवसम्मको सरुवा भएको छ ।

कर्मचारी प्रशासन शाखाका उपसचिव चन्द्र फुयाँल र पर्व सापकोटा, ईश्वर गिरीको पनि सरुवा भएको छ । मन्त्री त्रिपाठीले कर्मचारी प्रशासनकै शाखा अधिकृत सुदर्शन दाहाललाई प्रदेशमा पठाइदिएका छन् ।

सहसचिवहरू केदार पनेरु, भूपाल बराल, बाबुराम अधिकारी पनि सरुवा भएका छन् । मन्त्री त्रिपाठीको उचित भक्तिभाव गरेर हो वा किन हो अर्का सहसचिव जयनारायण आचार्य भने यथावत छन् ।

कम्युनिस्ट सरकारका मन्त्री त्रिपाठी तत्कालीन एमालेको चुनाव चिन्ह ‘सूर्य’मा भोट पाएर जितेका हुन् । त्रिपाठीले आफूलाई स्वतन्त्र भन्न रुचाउँछन् । त्रिपाठी नेकपाकै सांसद भए पनि स्वतन्त्र भन्दै आएका छन् ।

त्रिपाठीले मन्त्रालय सम्हाल्नासाथ नेकपाका मन्त्री पण्डितको कार्यकालमा बसेका उपसचिवदेखि सहसचिव र सचिवको सरुवा गरेका छन् । विगतमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट भौतिक पूर्वाधार मन्त्री हुँदाका शाखा अधिकृतदेखि सहसचिवसम्मलाई भित्र्याएका छन् ।

सचिवमा भने मन्त्री त्रिपाठीको सेटिङमा काम गर्ने गरी सूर्यप्रसाद गौतमलाई मन्त्रालयमा सरुवा गरी ल्याएको स्रोतले जनाएको छ । गौतम सेटिङमा माहिर सचिवका रुपमा चिनिन्छन् । गौतमका विषयमा मन्त्रालयमा विभिन्न खालका अड्कलबाजी हुन थालेको छ ।

Published : Friday, 2020 March 6, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया