शोकमा पर्‍यो कांग्रेस, देउवा र खतिवडाले दिए समवेदना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओखलढुंगा कांग्रेसका नेता ढुण्डीराज दाहालको निधन भएकोमा चिन्ता जनाउँदै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सभापति देउवाले बिहीबार शोक वक्तव्य जारी गरेर दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

‘ढुण्डीराज दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गदर्छु’, देउवाले भनेका छन् ।

नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्व सदस्य तथा नेपाल किसान संघको जिल्ला सभापति वरुणेश्वर, लामिडाँडा निवासी ७४ वर्षीय ढुण्डीराज दाहालको फागुन १८ गते निधन भएको थियो ।

स्व.दाहाल ५ दशकदेखि प्रजातान्त्रिक आन्दोलनमा सकृय थिए । बिक्रम संवत २०३१ सालको चर्चित ओखलढुंगकाण्डमा समेत उनले जेल यातना भोग्नुपरेको थियो ।

कांग्रेसले सञ्चालन गरेका अन्य सबै आन्दोलनमा स्वर्गीय दाहालको निरन्तर सहभागिता रहेको थियो । स्वर्गीय दाहालको श्रीमती, चार छोरा र दुई छोरी छन् ।

यसैबीच, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले पनि ओखलढुंगाको अग्रज कांग्रेस ढुंगानाको निधनले पार्टीलाई ठूलो नोक्सान भएको बताएका छन् ।

‘ढुण्डीराज दाहालज्यूको निधनले ओखलढुंगा कांग्रेसले अभिभावक गुमाएको छ’, खतिवडाले भनेका छन्, ‘दाहालज्यूको अभाव हामी समक्ष रहनेछ ।’

Published : Thursday, 2020 March 5, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया