पौडेल समूहको ठमेलमा भेला, देउवाका कार्यक्रम बहिस्कार गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारसहितका असन्तुष्ट समूहको भेलाले जिल्ला उपसभापतिहरूको भेला बहिस्कार गर्ने निर्णय गरेको छ ।

काठमाडौंको ठमेलस्थित प्रकाशमान सिंहको निवासमा बुधबार बसेको पौडेल–कोइराला समूहको भेलाले कांग्रेसको केन्द्रीय नीति, अनुसन्धात तथा प्रशिक्षण प्रतिष्ठानले बुधबार बोलाएको पार्टी जिल्ला उपसभापतिहरुको भेला बहिष्कार गर्ने निर्णय गरेको हो ।

उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको नेतृत्वमा रहेको प्रतिष्ठानले पार्टीका जिल्ला उपसभापतिहरूलाई पार्टीको नयाँ विधान लगायत संगठन विस्तारको विषयमा बुधबार सानेपामा एकदिने छलफल तथा प्रशिक्षणको कार्यक्रम राखिएको छ ।

असन्तुष्ट समूहका नेताहरूले प्रशिक्षण कार्यक्रम बहिष्कार गर्न आफूनिकटका उपसभापतिहरूलाई निर्देशन दिएको छ । यो निर्णयसँगै कांग्रेसभित्रको विवादफेरि बल्झिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंहसहित उपत्यकामा रहेका पार्टी जिल्ला सभापति, उपसभापति र केन्द्रीय सदस्यहरूबीच छलफल भएको थियो ।

कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनको मिति तय भइसकेको अवस्थामा समय घर्किइसकेपछि आयोजना गरिएका यस्ता कार्यक्रमको कुनै औचित्य नहुने भएकाले आफूहरूले बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिए ।

‘हरेक कुराको काम गर्ने समय हुन्छ’, उनले भने, ‘समय घर्कीसकेपछिको कामको कुनै औचित्य हुँदैन ।’

महाधिवेशनको मिति तय भइसकेको अवस्थामा महाधिवेशनलाई प्रभावित हुनेगरी पार्टीमा कुनै पनि कार्यक्रम गर्न नहुने उनले बताए ।

प्रशिक्षण प्रतिष्ठानले नयाँ विधान र सांगठिनक संरचना लगायतका विषयमा चैत १५ गते देशभरिका १० हजार क्रियाशील सदस्यलाई आधारभूत प्रशिक्षको प्रशिक्षण दिएर चैत मसान्तभित्र पार्टीका ५ लाख क्रियाशील सदस्यलाई पनि प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।

सभापति शेरबहादुर देउवाले विधानमा रहेको अधिकारको प्रयोग गर्दै केही आमन्त्रित केन्द्रीय सदस्यको मनोनयनसँगै पार्टीका २० विभागका प्रमुखहरूको नियुक्ति गरेपछि पौडेल–कोइराला समूह रिसाउँदै आएको छ ।

Published : Wednesday, 2020 March 4, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया