देउवालाई जसरी पनि सभापति हुन दिन्नः रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैली र व्यवहारले पार्टीमा द्वन्द्व मात्रै उत्पन्न गराएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले सभापति देउवाले बेलैमा गर्नुपर्ने काम कुबेलामा आएर गरेको आरोप लगाए ।
नेता पौडेलले सभापति देउवालाई पैसामा पद बाँडेको भनेर आफूले नभनेको दाबी गरे । उनले भने, ‘मैले पैसामा पद बाँड्नु भयो भनेर सभापति देउवालाई भनेको छैन । मिडियामा कसरी समाचार आयो ? थाहा भएन ।’
पौडेलले महाधिवेशनमा होमिएको कांग्रेसभित्र द्वन्द्व बढाएर पार्टीलाई बर्बादीतर्फ धकेलेको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले भातृ संगठनहरूको महाधिबेशन गराउनुपर्ने समयमा कसैको पनि महाधिवेशन नगराएर अनावस्यक समयमा कामविहीन पद बाँडेर आफू बलियो बन्न खोज्दा पार्टी र प्रजातन्त्रलाई नै खतरा पुर्याएको बताए ।
पौडेलले विभाग गठन र केन्द्रीय समितिमा मनोनयन गर्ने पार्टी सभापतिको अधिकारलाई दुरुयोग गरेर पार्टीमा विवाद सिर्जना गराएको भन्दै देउवा पार्टी सभापति र प्रधानमन्त्री हुँदा पार्टी र प्रजातन्त्र जहिले पनि खतरामा परेको बताए ।
‘१३ औँ महाधिवेशनमा हामीबाट गल्ती भयो । अब हामी यस्तो गल्ती दोहोर्याउने पक्षमा छैनौँ’, उनले भने, ‘कार्यकर्तालाई पनि यस्तो गल्ती नदोहोर्याउन आग्रह गरिरहेका छौँ ।’
पौडेलले विभागमा आफूहरू नजाने बताए । ‘हामी सहभागी हुँदैनौँ । हामीलाई चाहिँदैन’, उनले भने, ‘अहिले विभाग नबनाउ । महाधिवेशनमा जाने काम गरौँ । पार्टीलाई सक्षम बनाऔँ ।’
अहिले पार्टीलाई बलियो बनाएर सरकारलाई खबरदारी गर्दै महाधिवेशन सम्पन्न गराउने पर्ने भूमिकामा रहनुभएको पार्टी सभापतिले फेरि पार्टी र देशलाई नै संकटमा पु¥याउने काम गरेको वरिष्ठ नेता पौडेलले बताए ।
‘देउवाबाट सधै पार्टीमा विकृति, देशमा विसंगती ल्याउने काम मात्र भएको छ’, उनले भनेका छन्, ‘जति सम्झाउँदा पनि काम लागेन । उहाँलाई काम गर्न सहज होस् भनेर उहाँका पछिपछि लागे । चुनावमा लागे, अरुमा उहाँसंग लागे तर, केही लागेन ।’
सभापति देउवाले पार्टी ध्वस्त बनाउन जति नराम्रा काम गर्दै गए पनि महाधिवेशनलाई सफल बनाएर नयाँ नेतृत्व ल्याएरै छाड्ने पौडेलले बताए ।
महाधिवेशन सम्पन्न गर्नुपर्ने समय विभाग थपेर मात्रै देउवा बलियो हुन नसक्ने पौडेलको भनाइ छ । ‘अब योग्य र राम्रा व्यक्तिहरूलाई मात्रै पार्टीमा ल्याउने र क्रियाशील सदस्यमा पनि सक्षमलाई मात्रै ल्याएर कांग्रेस र प्रजातन्त्रको भविश्यलाई उज्जल बनाउनुपर्छ’, उनले भनेका छन् ।
‘सभापतिले महाधिवेशनलाई प्रभावित बनाउन पद बाडेको हो । हामी कांग्रेसलाई संकटबाट मुक्त बनाउने छौँ’, पौडेलले भने, ‘कांग्रेसमा विकृति आए देशमा र प्रजातन्त्रमा विकृति आउँछ । हामीले देशभरिका साथीहरूलाई १३औँ महाधिवेशनको गल्ती नदोहोर्याउन भनिरहेका छौँ ।’
‘महाधिवेशनमा हाम्रो एक मत छ । सबैलाई पद चाहिन्छ भन्ने छैन । हाम्रो पक्षबाट एकजना मात्र सभापति हुन्छ’, पौडेलले भने, ‘अर्को भनेको देउवा पक्षबाट हुन्छ । हामी उहाँको पक्षलाई सभापति बन्न दिदैनौँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया