नेकपाका सांसदद्वारा ललितपुरमा सरकारी जग्गा कब्जाको प्रयास

लगनखेल । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको टाहाखेलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरूले सरकारी जग्गा कब्जाको प्रयास भएको छ ।

स्थानीयको बिरोधपछि नेकपाका प्रदेश सांसद, वडाध्यक्षसहितको टोलीको योजना स्थानीयले भताभुङग बनाइदिएका छन् । सार्वजनिक जग्गा कब्जा गर्ने नेकपाका प्रदेश सांसद चेतनाथ सञ्जेल र वडा नम्बर १० का वडाध्यक्ष दर्शनकुमार विष्टको योजना तत्कालका लागि तुहिएको छ ।

गोदावरी नगरपालिकाको वडा नम्बर १०, टाहाखेलमा नेकपाका प्रदेश सांसद चेतनाथ सञ्जेलको नेतृत्वमा सार्वजनिक जग्गा कब्जा भएको स्थानीयले आरोप लगाएका छन् ।

प्रदेश सांसद चेतनाथ सञ्जेलले आफ्नो दलका कार्यकर्ता रामप्रसाद सञ्जेललाई सुकुम्बासीका नाममा सार्वजनिक जग्गा कब्जा गरेर घर बनाउन अनुमति दिएको विषयमा विरोध भएको हो । स्थानीयले सार्वजनिक जग्गामा घर नबनाउन माग गरेका छन् ।

सार्वजनिक जग्गा कब्जा गर्न मिलोमतोमा वडा नम्बर १० को वडा कार्यालयले भूमिहीन भूकम्पपीडितलाई घर बनाउन स्थान उपलब्ध गराउने भन्दै गैरकानूनी कार्य गरेको आरोप स्थानीयले लगाएका छन् ।

फागुन १७ गते राति सूचना टाँस गरी सार्वजनिक जग्गा कब्जाका लागि चोरबाटोबाट कानूनी उपय निकालिएको थियो ।

फागुन १८ गते बिहान प्रदेश सांसद चेतनाथ सञ्जेलको अगुवाईमा वडा नम्बर १० का वडाध्यक्ष दर्शनकुमार बिष्टसहित दर्जनभन्दा बढी नेकपाका स्थानीय कार्यकर्ता र प्रहरीले सामुदायिक वनको क्षेत्रसँग जोडिएको करीब ३ रोपनी जग्गा कब्जा गर्न खोजिएको आरोप स्थानीयले लगाएका छन् ।

सार्वजनिक जग्गा वितरण गर्न गोदावरी नगरपालिकाको अमिनसहित जग्गा भाग लगाउन खोज्दा झण्डै २ सय स्थानीयले विरोध जनाएपछि प्रदेश सांसद चेतनाथ सञ्जेल र वडाध्यक्ष दर्शनकुमार श्रेष्ठ भागेका थिए ।

नेकपाका प्रदेश सांसदसहितका नेताहरू गएपछि स्थानीयहरूले सभा गरेर सार्वजनिक जग्गा कब्जा गर्ने नेकपाको हर्कतको विरोध गरेका थिए ।

Published : Monday, 2020 March 2, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया