हेटौँडामा पौडेल–कोइराला समूहको गोप्य भेला

हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारले वागमती प्रदेशका पूर्वजिल्ला सभापतिहरूको भेला गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा विरोध समूहले पूर्वजिल्ला सभापतिहरूको भेला आइतबार हेटौंडामा सम्पन्न गरेको हो ।

पार्टीका पूर्वसभापतिलाई भूमिकाविहीन बनाउने, पार्टीका नियमित कार्यक्रममा समेत सहभागी नगराउने प्रवृत्ति देखिएको पूर्वजिल्ला सभापतिको गुनासो छ ।

एक पटक पार्टीको नेतृत्व गरिसकेका व्यक्तिको सल्लाह सुझावअनुसार पार्टी अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ ।

भेलालाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय नेताहरू डा.रामशरण महत, अर्जुननरसिंह केशी लगायतले सम्बोधन गरेका थिए ।

केन्द्रीय नेताहरूले सरकार अधिनायकवादी शैलीमा अघि बढ्दासमेत कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै सभापति देउवाको आलोचना गरेका छन् ।

सभापति देउवा विधान विपरीत अघि बढेको र पार्टी आन्तरिक र बाह्य रुपमा कमजोर देखिएको नेताहरूले आरोप लगाए ।

Published : Monday, 2020 March 2, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया