ओलीले बास्कोटालाई बचाउन खोजेपछि देउवाद्वारा छानविनको माग
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको ७० करोडको कमिशन प्रकरणको छानविन गर्न माग गरेका छन् ।
संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै सभापति देउवाले बास्कोटाको अडियो प्रकरणलाई छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरे । उनले दोषीलाई उम्काउन प्रधानमन्त्री खड्गप्रसाद ओलीले अडियोलाई नक्कली भनेर दिएको अभिव्यक्तिको विरोध जनाए ।
‘सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा सञ्चारमन्त्रीले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको एक हप्ता पुगिसक्दा पनि यसको छानविन हुन सकेको छैन’, उनले भने, ‘छानविन नहुनुको पछाडि नियत गम्भीर छ ।’
‘सञ्चारमन्त्रीले बोलेको अडियोमा हामीलाई कति आउँछ ? भनेर बोलेको प्रष्ट सुनिन्छ । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु – हामी भनेको कसलाई भनिएको हो ? हामीको अर्थ प्रष्ट गर्नुहोस् ।’
‘त्यो अडियोको छानविन हुनुपर्छ । त्यो छानिवन गर्ने निकायले छानविन गर्नुभन्दा पहिला नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो’, सभापति देउवाले भनेका छन्, ‘त्यसले छानविन प्रभावित हुन्छ कि हुँदैन ? छानविन हुनुभन्दा पहिला नै तपाईले निर्णय दिनुभयो भने तपाईको बालिको विश्वसनीयता कमजोर भएन ।’
‘नेपाल ट्रष्टको स्वेत पत्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी ७० करोडको कमिशन मागेको अडियोबाट मुलुकको ध्यान मोड्ने प्रयास भइरहेको छ’, उनले भने, ‘गोकर्ण रिसोर्ट लिज प्रकरणको ध्यान मोड्ने प्रयास भइरहेको छ ।’
‘नेपाल टेलिकमको प्रकरणमा अर्बौं भ्रष्टाचार भएको कुरा आएको छ’, देउवाले भने, ‘एनसेल चार अर्बमा सकेको काम एनटीसीलाई १२ अर्ब कसरी लाग्यो ?’
‘म प्रधानमन्त्री भएको बेला प्रत्यक्ष संलग्नतामा नेपाल ट्रष्टको जग्गा लिजका सम्बन्धमा कुनै निर्णय भएको छैन’, उनले भने, ‘राजनीतिक पूर्वाग्री भएर मेरो नाम जोड्ने कार्यप्रति मेरो गम्भीर आपत्ति छ ।’
नेपाली कांग्रेसका सभापति देउवाले पेट्रोलियम पदार्थमा कर बढाएर नेपाली जनतालाई थप करको भार बढाउने कार्य कम्युनिस्ट सरकारले गरेको आरोप लगाए । उनले पेट्रोलियम पदार्थमा कर लगाउने निर्णय फिर्ता गर्न आग्रह गरेका छन् ।
सभापति देउवाले कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भन्दै सर्तकता अपनाउन सरकारसँग माग गरेका छन् । विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको बताएका देउवाले नेपालीहरूले सुरक्षा अपनाउनुपर्ने बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया