कम्युनिस्ट र राप्रपाका नाम चलेका ठूला नेता कांग्रेस प्रवेश

खोटाङ । खोटाङ जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नाम चलेका ठूला नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार विशेष कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का जिल्ला अध्यक्ष धर्मराज पोखरेल नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस खोटाङको २५औं जिल्ला कार्य समितिको बैठकका अवसरमा शनिबार पोखरेल नेपाली कांग्रेसमा प्रवेश गरेको जनाइएको छ ।

पोखरेललाई वीपी स्मृति भवन दिक्तेलमा कांग्रेस सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति विष्णुकुमार राई लगायतले पार्टीको झण्डा हस्तान्तरण र अविर जात्रा गर्दै कांग्रेसमा भित्र्याएका हुन् ।

पार्टीमा भित्र्याएसँगै पोखरेललाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिको उपसभापति पदमा समायोजन गरिएको पार्टी ईच्छुराम रानाले जानकारी दिएका छन् ।

लामो समय राप्रपा (संयुक्त)को राजनीति गरेका पोखरेलले कांग्रेसमा राजनीतिक भविष्य देखेर पार्टी प्रवेश गरेको बताए ।

पोखरेलसँगै खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेकपाका नेता रुद्र गिरी पनि कांग्रेसमा प्रवेश गरेका छन् । गिरीलाई सह–सचिव पद दिइएको छ ।

कार्यक्रममा गिरी उपस्थित नभए पनि उनको मनोनयन पत्र फोनबाटै वाचन गरेर सुनाइएको थियो ।

नेकपामा आवद्ध विजयखर्कका लेखनाथ खनाल, धनुष राई, तोयानाथ खनाल, बालकुमार ढकाल, मिलन पोखरेल, सुमन पोखरेल र भक्त शेर राई पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेशसँगै विजयखर्कमा निर्माण हुने गाउँ कार्यसमिति पार्टी भवनका लागि निःशुल्क ६ आना २ दाम जग्गा उपलब्ध गराउने जग्गादाता लेखनाथ खनाललाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले सम्मान गरेको छ ।

मुलुकमा व्याप्त भ्रष्टारचार र बेतिथि मौलाउँदै गएपछि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर देशैभरि चलेको छ ।

Published : Saturday, 2020 February 1, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया