नेविसंघका संस्थापक सदस्य अर्यालको निधन
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का संस्थापक सदस्य प्रेमनाथ अर्यालको निधन भएको छ ।
शुक्रवार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ७५ वर्षको उमेरमा अर्यालको निधन भएको गुल्मी कांग्रेसका नेता विष्णु पन्थीले जानकारी दिए ।
गान्धीवादी छविका अर्याल गुल्मीबाट निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
वीपी कोइराला र कृष्णप्रसाद भट्टराईसँग अत्यन्तै निकटमा रहि काम गरेका अर्यालले पञ्चायतकालमा भट्टराईसँगै ३ वर्ष जेल पनि बिताएका थिए ।
किसुनजीसँग अन्तिम समयसम्म निकटमा रहि काम गरेका अर्याल पार्टीको काममा सानै उमेरदेखि लागेका थिए ।
०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरी पञ्चायती व्यवस्था शुरु गर्दा कांग्रेस नेतृ शैलजा आचार्यसहित कालोझण्डा देखाउने कार्यमा अर्यालले सहभागी थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विपिन कोइराला, शिवबहादुर खड्का, चिरञ्जीवी वाग्ले लगायतका नेताहरूका अर्याल निकट मित्र थिए ।
तीनधारा पाठशालमा प्रारम्भिक अध्ययन गरेका उनले इतिहासमा एमए र सर्वदर्शनमा आचार्य गरेका थिए ।
गुल्मी जिल्ला घर भई कांग्रेसको राजनीतिमा जीवन पर्यन्त सक्रिय रहेका अर्यालको ६ भाई छोरा २ छोरी र श्रीमती रहेका छन् ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अर्यालको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको जनाउँदै गहिरो दुःख व्यक्त गरेका छन् ।
भण्डारीले प्रजातान्त्रिक आन्दोलनका योद्धाका रुपमा स्मरण गर्दै अर्यालप्रति श्रद्धाञ्जलि दिएका छन् ।
आफ्ना संस्थापक सदस्यको निधनमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गानाले दुःख व्यक्त गरेका छन् ।
ढुङ्गानाले स्वर्गीय अर्यालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककै घडीमा समेत नेविसंघका स्थापनाकालीन नेताहरूको सोँच अनुसारको संगठन बनाएर लोकतन्त्र बलियो बनाउने कार्यमा आफ्नो नयाँ टिम काम गर्ने प्रतिबद्धता जनाए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया