चौतर्फी विरोध भएपछि आस्था धरौटीमा रिहा
काठमाडौं । चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासन काठमाडौं र काठमाडौं प्रहरीले गायिका आस्था राउतलाई धरौटी छाडेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंगलबार गायिका राउतलाई छाड्न आदेश दिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।
राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।
प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग मागेको थियो ।
सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय मात्र दिएको थियो ।
चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गरिएको थियो ।
राउतलाई गएराति ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो । हाइपर टेन्सनका कारण समस्या भएको भन्दै उनलाई प्रहरीले अस्पताल लगेको थियो ।
मंगलबार बिहानै सरकारी वकिल कार्यालय हाजिर गराएपछि उनलाई प्रशासनमा लगिएको थियो ।
माघ १ गते मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो ।
सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।
राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया