भारतद्वारा सात सय बढी एम्बुलेन्स वितरण, लैनचौरमा भव्य कार्यक्रम

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७१औं गणतन्त्र दिवस मनाएको छ ।

आइतबार लैनचौरस्थित राजदूतावासमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत डा.अजय कुमारले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका छन् । समारोहमा डा.कुमारले भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए ।

कार्यवाहक राजदूतले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना निकटतम नातेदारलाई ५.९७ करोड नेपाली रुपियाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरे ।

राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरूलाई पुस्तक प्रदान गरेको छ ।

नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्वतालाई दोहो¥याउँदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरूलाई ६ वटा बस पनि वितरण गरेको जनाएको छ ।

हालसम्म भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७८२ एम्बुलेन्स तथा १५४ बस प्रदान गरी हजारौं नेपाली जनताको स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गरेको छ ।

समारोहमा दूतावासका अधिकारी तथा उनीहरूको परिवारका साथै नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरूकोे उपस्थिति थियो ।

केन्द्रीय विद्यालय, मोडर्न इन्डियन स्कुल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीले देशभक्तिका गीत प्रस्तुत गरेका थिए ।
नेपाली सेनाको ब्यान्डको मधुर प्रस्तुतिसँगै समारोह सम्पन्न भयो ।

यसैबीच, कार्यवाहक राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका छन् । नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन सो समारोहको मुख्य अतिथिका रुपमा सरिक भएका छन् ।

समारोहमा १५०० भन्दा बढी विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । जसमा नेपालका वरिष्ठ राजनीतिज्ञ तथा गणमान्य व्यक्तित्वहरू सम्मिलित भए ।

Published : Sunday, 2020 January 26, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया