कांग्रेसका पूर्वसांसद एवम् पूर्वसभापति कार्कीको निधन

काठमाडौं । पाल्पा जिल्लाका पूर्व सांसद तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति गम्भीरजंग कार्कीको निधन भएको छ ।

कार्कीको उपचारका क्रममा काठमाडौंमा निधन भएको नेपाली कांग्रेस पाल्पा काठमाडौं सम्पर्क समितिका सभापति खिमानन्द बस्यालले जानकारी दिए ।

उनी २०४८ सालमा पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०५१ देखि २०५६ सालसम्म नेपाली कांग्रेस पाल्पाको जिल्ला सभापति थिए ।

उनी राष्ट्रिय पंचायत सदस्यमा पनि निर्वाचित भएका थिए । नेता कार्कीको मृगौला फेल भएको थियो ।

लामो समयदेखि डायलायसिस गराउँदै आएकामा कार्कीको अचानक निधन भएको नेपाली काग्रेस पाल्पाका पूर्व सभापति तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य राजन पन्तले जानकारी दिए ।

पाल्पाको रम्भा गाउँपालिका अन्तर्गत पर्ने ताहूँमा स्थायी घर भएका कार्कीको काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको पन्तले बताए ।

सरल, सक्रिय र सवैसँग सहजै घुलमिल हुनसक्ने स्वभावका कार्की पाल्पामा सर्वप्रिय नेताका रुपमा चिरपरिचित थिए ।

Published : Sunday, 2020 January 26, 7:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया