प्रचण्डले चुरिफुरी देखाएपछि ओलीले दिए जवाफ, खुमलटारमा खैलाबैला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र वरिष्ठ नेता झलनाथ खनालबीच भएको लामो संवादले पार्टीभित्र खैलाबैला उत्पन्न गरेको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारबाट अकस्मात बोलाइएपछि खनाल बिहीबार बिहान १० बजेतिरै त्यहाँ पुगेका थिए । उनीहरूका बीच पौने २ बजेसम्म छलफल भएको थियो । नेता खनालले सरकारको आलोचना गर्दै आएका छन् ।

खनालका अनुसार उनीहरूका बीच करीब पौने चार घण्टा दुःख–सुखका धेरै अनौपचारिक कुराकानी भएको थियो ।

सभामुख चयन प्रकरणमा पूर्वएमाले समूहका वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका नेता अग्नि सापकोटालाई साथ दिएपछि अध्यक्ष ओलीले असहज महसुस गरेका थिए ।

सचिवालयमै अल्पमतमा पर्ने सम्भावना देखिएपछि ओली सापकोटाको नाममा निर्णयका लागि तयार भएको चर्चा नसेलाएकै अवस्थामा खनालसँगको लामो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

खनालले सभामुख चयन प्रकरणलगायत विषयमा कुनै पनि चर्चा नभएको बताए पनि पार्टी सञ्चालन र सरकारको कामलाई अझ प्रभावकारी बनाउने विषयमा भने छलफल भएको स्वीकार गरेका छन् ।

‘पार्टी र सरकारलाई राम्ररी सञ्चालन गर्नुपर्छ नत्र भोलिका दिनमा अप्ठ्यारो स्थिति आउन सक्छ भन्ने कुराकानी भयो’, खनालले बताएका छन् ।

ओली–खनालबीच लामो समयदेखि विश्वासिलो सम्बन्ध छैन । पार्टी एकतासँगै आफूलाई वरिष्ठ नेताको वरीयतामा तल पारिएको भन्दै खनाल ओलीसँग असन्तुष्ट थिए ।

भदौ ३ गतेको सचिवालय बैठकले उनकै मागअनुसार वरीयता सच्याइएपछि भने ढिलै भए पनि पार्टीले न्यायोचित निर्णय गरेको खनालले प्रतिक्रिया दिएका थिए ।

ओलीले पार्टी सञ्चालनबारे अर्का अध्यक्ष प्रचण्डसँग नियमितजस्तै संवाद गर्दै आएका छन् । पार्टी सञ्चालनलगायत विषयमा प्रचण्डपछि ओलीले खनाललाई भन्दा नेपालसँगको संवादलाई प्राथमिकता दिने गरेका छन् ।

भदौ ५ गते ओली–नेपाल सम्बन्ध तिक्ततामा परिणत भएपछि उनीहरूबीचको सम्बन्ध व्यक्तिगत रूपमा अझै सुमधुर भइसकेको छैन ।

ओली–नेपालले गत २९ कात्तिकमा करीब ४ घन्टा लामो छलफल गरेर तिक्तता सम्बन्धको समीक्षा गर्दै सुमधुर बनाउने प्रयास गरेका थिए ।

Published : Saturday, 2020 January 25, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया