कम्युनिस्ट सरकार निरंकुशतातिर जान खाेजेकाे कार्यबाहक अध्यक्ष पाेखरेलकाे आराेप

बुटवल, ११ माघ । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले सरोकारवालाहरूसँग छलफल नै नगरी सरकारले मिडिया विधेयक ल्याएर निरंकुशतातर्फ जान खोजेको आरोप लगाएका छन् ।

‘मिडिया र आम नागरिकलाई नै कुण्ठित पार्ने गरि ल्याईएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकले सरकार निरंकुशतातर्फ जान खोजेको शंका उत्पन्न भएको छ’, पोखरेलले भने, ‘यसका विरुद्ध हामी सडकमा जान पनि तयार छौं ।’

रिपोटर्स क्लब प्रदेश ५ ले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले भने, ‘हामीलाई सडकमा जानका लागि बाध्य पारिदैं छ । त्यसका लागि अहिले हामी पूर्व-तयारीमा छौं ।’

नेपाल बार एसोसिएशन उच्च अदालत तुलसीपुर बुटवलका अध्यक्ष जोकबहादुर खत्रीले सरकारले ल्याएको मिडिया विधेयकलाई खारेज गर्न माग गरेका छन् ।

सरकार आफ्नो दम्भमा निरङ्कुशतातर्फ अग्रसर भएको औल्याउदै उनले प्रतिपक्ष दलको भूमिकामा समेत प्रश्न उठाए । ‘विरोध गर्नुपर्ने कुराहरूलाई प्रतिपक्ष दलले एक पटक विरोध सभा गरेर मात्रै भूमिका पूरा हुँदैन’, उनले भने, ‘जनमत तयार पार्नका लागि भएपनि जनहित विरुद्ध सरकारका क्रियाकलापहरूमा लगातार आवाज उठाउन सक्नुपर्छ ।’

राष्ट्रय समाचार समितिका पूर्व अध्यक्ष बालकृष्ण चापागाइँले पार्टीगत संगतले पत्रकारिता भुत्ते भएको टिप्पणी गरेका छन् । निष्पक्ष पत्रकारितालाई जोड दिँदै उनले सरकारले ल्याएको मिडिया विधेयकले लेखेकै भरमा बोलेकै भरमा जेल जानुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे ।

Published : Saturday, 2020 January 25, 7:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया