राष्ट्रपति र मुख्यमन्त्रीको जिल्लामा तात्याे कांग्रेस, कम्युनिस्टहरूसँग भिड्ने

भोजपुर । नेपाली कांग्रेस भोजपुरका नेताहरूले जिल्लाको विकास कांग्रेसले मात्रै गर्न सक्ने भन्दै जनतालाई राहत दिन नसकेको भनी कम्युनिस्ट सरकारको आलोचना गरेका छन् ।

भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकामा नेपाली कांग्रेसको गाउँपालिकाको पार्टी कार्यालयको शुक्रबार उद्घाटन गर्ने क्रममा नेताहरूले भोजपुरको विकासका लागि कांग्रेस नै आवश्यक रहेको बताए । उनीहरूले भोजपुरका जनताले पटक–पटक जिताएर पठाउँदा पनि कम्युनिस्टहरूले कुनै काम गर्न नसकेको बताए ।

दुर्गम जिल्ला भएको जानकारी सबैलाई रहेको भन्दै नेपाली कांग्रेसका नेताहरूले भने, ‘केन्द्र र प्रदेशमा कम्युनिस्टहरूको बलियो सरकार छ । विकास गर्न कुनै चासो नै दिँदैनन् ।’

भोजपुर जिल्लाकै राष्ट्रपति र प्रदेश १ को मुख्यमन्त्री हुँदा पनि विकासमा कुनै प्रगति हुन नसकेको नेपाली कांग्रेसका नेताहरूले आरोप लगाए ।

नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राईले भोजपुरलाई कांग्रेसले समृद्धि बनाउने बताए । ‘यो जिल्लाको विकासमा हामीले नेतृत्व लिनुपर्छ’, उनले भने, ‘कांग्रेसले गफ गर्दैन । काम गरेर जनतालाई राहत दिन्मछ । विकास दिन्छ ।’

उनले अबको निर्वाचनमा नेपाली कांग्रेस एकढिक्का भएर जाने बताए । त्यसका लागि केन्द्रदेखि गाउँसम्म मिलेर जानुका बिल्प नरहेको सभापति राईले बताए ।

नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जनताले दिएको अभिमतको कम्युनिस्टहरूले दुरुपयोग गरेको बताए ।

‘जनताले कम्युनिस्टहरूलाई आश र विश्वास गरेर भोट दिए । तर, कम्युनिस्टहरू कमाउनतिर लागे । जनताको आवश्यक्ता पूरा गर्न सकेनन्’, उनले भने, ‘गफाडी कम्युनिस्टहरूलाई भोजपुरका जनताले राम्रैसँग चिनेका छन् ।’

नेपाली कांग्रेसप्रति जनताको भरोसा रहेको भन्दै चापागाइँले भने, ‘हामीले नै हो जनताको ईच्छा र आकंक्षा पूरा गर्ने । अब एक भएर जानुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता उमेशजंग रायमाझीले भोजपुरको विकासमा तेरो र मेरा नभनेर दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । ‘हामी दलीय स्वार्थभन्दा माथि रहेर काम गर्नुपर्छ’, उनले भने, ‘जनताको विश्वासमाथि कम्युनिस्टहरूले घात गरेका छन् ।’

नेपाली कांग्रेस पौवादुङमा गाउँपालिकाका सभापति मनोज कार्कीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राई, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् युवा नेता उत्तम चापागाइँ, युवा नेता उमेशजंग रायमाझी, नेपाली कांग्रेसका नेता एवम् भोजपुर नगरपालिकाका मेयर कैलाश आले, तरुण दल भोजपुरका अध्यक्ष सरोज बस्नेत, भोजपुर कांग्रेसका काेषाध्यक्ष सफल किराँत, नेपाल तरुण दलका जिल्ला सचिव ज्याेति पाैडेल, नेपाल महिला संघ लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2020 January 24, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया