यस कारण त्यागे बेलायती राजकुमारले राजदरबार

लण्डन । सबैभन्दा पूरानो लोकतन्त्र बेलायतमा अहिले पनि राजसंस्था छ । राजकुमार ह्यारीकी दुलही मेघन मर्केल बेलायती राजपरिवारमा भित्रिएकी अन्य युवतीजस्ती थिइनन् । उनी न गोरी थिइन्, न कुनै वैभवशाली घरानाकी छोरी, न बेलायती नागरिक नै । मध्यम परिवारका अमेरिकी बाबुआमाकी छोरी मेघन संघर्षबाट स्थापित कलाकार थिइन्, बिहे भएर पारपाचुके भइसकेकी डिभोर्सी पनि ।

बेलायती राजपरिवारकी बुहारीका रूपमा मेघनको आगमन अभूतपूर्व थियो । बेलायती लवजमा अंग्रेजी बोल्न पनि नजान्ने मेघनको बकिङहम दरबार यात्रालाई बेलायतीहरूले एउटा क्रान्तिको रूपमा स्वागत गरे । लाखौं मानिस ह्यारी र मेघनको विवाह समारोह हेर्न सडकमा ओइरिए ।

बेलायती राजकुमार ह्यारीले घोषणा गरेका छन्– अब उनी राजकुमार रहने छैनन् बरू आफैं काम गरेर आत्मनिर्भर बन्नेछन् । मेघन र छोरालाई लिएर क्यानडा जाने, उतै बस्ने उनको योजना थियो ।

कहिलेकाहीँ मात्र बेलायत आउने उनको घोषणा महारानी एलिजावेथलाई जस्तै धेरैलाई अप्रत्यासित लाग्यो । ह्यारीले लामो समयसम्म सोचेर, विचार गरेर र मेघनसँग सल्लाह गरेर नै निर्णय लिएको बताए । दरबारको सुखसयल त्यागेर ह्यारी र मेघन अहिले क्यानडा पुगिसकेका छन् ।

बेलायती राजपरिवारको अभिमान, पछिल्लो समय बेलायतमा फैलिएको गोरा राष्ट्रवादको लहर र ट्याबलोइड पत्रिकाको पत्रकारिता मिसिएको छ ।

ह्यारी–मेघन मिलनको दुई वर्षअघि नै आप्रवासीलाई स्वागत गर्ने, अरूलाई सहजै स्वीकार्ने र दुःखमा परेकालाई शरण दिने मान्यताबाट बेलायतले ब्याक गियर लगाइसकेको थियो ।

बेलायतलाई युरोपेली युनियनबाट अलग गर्ने कि नगर्ने भन्नेबारे २३ जुन २०१६ मा भएको जनमत संग्रहमा धेरै बेलायतीहरूले आफू छुट्टै बस्ने विकल्प रोजेका थिए ।

भित्रभित्रै गोरा श्रेष्ठताको अहमले गाँजेको बेलायती समाजले मेघनलाई गरेको स्वागत पानीको फोकाजस्तै थियो, केही समयपछि फुट्न थाल्यो । राजदरबारभित्रै र बाहिरबाट पनि उनको खिसीटिउरी हुन सुरू भयो ।

छिसिक्क केही हुनासाथ तिललाई पहाड बनाउन पल्केका बेलायती ट्याबलोइडलाई मसला मिल्यो । उनीहरू मेघनको जति सकिन्छ हुर्मत लिन थाले ।

ट्याबलोइडहरूले विलियम्सकी श्रीमती केट र मेघनको तुलना गर्न थाले । जे कुरा गर्दा उनीहरूले केटको तारिफ गरेका थिए मेघनले त्यही गर्दा खेदो खने ।

जति बेला केट गर्भवती थिइन् । पेटमा हात राखेको उनको तस्बिर छापेर द डेली मेलले शीर्षक राख्यो– अब धेरै समय छैन । राजपरिवारको जिम्मेवारी पनि बहन गर्दै राजकुमारी केटले आफ्नो बच्चा सम्हालिरहेकी छन् ।

मेघनले गर्भवती हुँदा जब त्यसरी पेटमा हात राखिन्, डेली मेलले लेख्यो– मेघन किन त्यहाँबाट हात हटाउन सक्दिनन् ?

बजफिड न्युजले केट र मर्केलको तुलना गरिएका २० वटा समाचारका शीर्षकबारे समाचार प्रकाशित गरेको छ । सबैभन्दा उदेकलाग्दो त के छ भने एक्प्रेस भन्ने पत्रिकाले केट गर्भवती भएको बेला एभोकाडो खाँदा तारिफ गरेर समाचार लेखेको थियो । मेघनबारे लेख्दा उसको शीर्षक थियो– मेघनले निकै मन पराउने एभोकाडो मानवअधिकार दुरूपयोग, खडेरीजस्तो शहस्राब्दी लज्जासँग जोडिन्छ ।

केट र मेघनको तुलनामात्र होइन बेलायती प्रेसले मेघन शाही परिवारमा जोडिएपछि ह्यारी र उनका दाजु विलियम्सबीच फाटो आएको समाचार पनि छापे ।

ट्याबलोइड त बाहिर छाप्थे तर ह्यारी र मेघनको मन कटक्क खाने व्यवहार त दरबारभित्रै हुन्थे । समाजका अन्य सदस्यहरूले पनि टर्चर दिन्थे ।

रानी एलिजावेथका एक भाइकी श्रीमतीले क्विन्स क्रिसमस लञ्च पार्टीमा जाँदा कोटमा एउटा काली महिलाको प्रतीक लगाएकी थिइन् । पार्टीमा ह्यारी र मेघन पनि सहभागी थिए । मेघनले दरबारभित्र के भोगिरहेकी थिइन् भन्ने कुराको यो एउटा प्रतिनिधि घटना हो ।

बेलायतीहरूले ह्यारी र मेघनलाई त उडाए उडाए, भर्खरै जन्मेका उनीहरूका छोरा आर्चीलाई पनि बाँकी राखेनन् । बेलायती कमेडी राइटर, पत्रकार तथा डिजे ड्यानी बेकरले आर्चीबारे लेखेको ट्वीटले त जागिर नै छोड्नुपर्‍यो । पाँच लाख फलोअर्स भएका बेकरले मेघन सुत्केरी भएपछि ट्विटरमा एउटा तस्बिर राखे र लेखे– रोयल बेबी लिभ्स हस्पिटल ।

उनले राखेको तस्बिरमा आर्ची होइन, एउटा लठ्ठी टेकेको चिम्पाञ्जीलाई महिला पुरूषले समातिरहेका थिए । ट्विटका कारण बेलायती प्रसारण संस्थाको बीबीसी रेडियो ५ ले उनलाई जागिरबाट निकालिदियो । पछि उनले माफी मागे ।

दरबार, समाज र मिडियाबाट ह्यारी र मेघन यति आजित थिए, उनीहरूलाई लाग्यो– ह्यारीकी आमा डायनाको जस्तो हालतमा नपुग्ने हो भने दरबार छोडेकै राम्रो। योभन्दा विकल्प छैन ।

क्यानडा उड्नुअघि सोमबार लण्डनमा आयोजित कार्यक्रममा ह्यारीले भने– दरबार छोड्ने निर्णय गर्नु दुस्खको कुरा हो । हामीसँग कुनै विकल्प थिएन । युके–अफ्रिका इन्भेस्टमेन्ट समिट क्रममा ह्यारीले आफूले किन दरबार छोड्नुको कारण बताउन खोजेका छन् । उनले भनेका छन्, ‘केही दिनयता तपाईंहरूले धेरै कुरा पढ्नुरसुन्नु भएको छ ।’

‘मैले भन्न सक्नेजति सत्य म तपाईंहरूलाई मेरै मुखबाट सुनाउन चाहन्छु। राजकुमार, ड्युकका रूपमा होइन ह्यारीका रूपमा मात्र’, उनले भनेका छन् । ‘त्यही ह्यारी जसलाई तपाईंहरूले ३५ वर्षदेखि हुर्किएको देख्नुभएको छ’, उनले भने, ‘बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो यो कहिल्यै बदलिने छैन ।’ उनले आफू र मेघनको समान आस्थामा विश्वास गर्ने बताए ।

‘म हुर्किँदा तपाईंहरूले धेरै नै सहयोग गर्नुभयो। मैले जिन्दगीमा आशा गरैझैं माया र खुसी पाएँ भन्ने ठानेर तपाईंहरूले मेघनलाई अँगालो फैलाएर स्वागत गर्नुभयो । र राजकुमारी डायनाको कान्छो छोराले विवाह गर्‍यो’, उनले भने, ‘पछिल्ला वर्षमा तपाईंहरूले यो पनि थाहा पाउनुभयो, मैले चुनेकी महिलाले पनि मेरैजस्तै आस्था र विश्वास राख्छिन् । उनी नै मैले माया गर्ने महिला हुन् ।’

उनले विवाह गर्दा आफू निकै उत्साही र खुसी भएको भए पनि विस्तारै खुसीको त्यो पारो घट्न थालेको बताए । ‘बिहे हुँदा हामी उत्साहित थियौं र निकै आशावादी पनि । हामी यहाँ बेलायत र बेलायतीको सेवा गर्नका लागि थियौं’, उनले भनेका छन्, ‘त्यही भएर अहिले यो सब छोड्न पर्दा म निकै दुखी छु ।’

बेलायतबाट प्रकाशित हुने ट्याबलोइडले मात्र होइन विश्वप्रतिष्ठित म्यागेजिन द इकोनोमिस्टले पनि यो घटनालाई ब्रेक्जिटसँग तुलना गरेका छन् । यसलाई छोटकरीमा मेघनको नाम जोडेर मेक्जिट लेखेका छन् । अर्थात् शाही पद त्याग्ने र क्यानडा गएर बस्ने निर्णय मेघनले गरेकी हुन् भनेर कतिपयले त यसलाई हार्ड मेक्जिट पनि भनेका छन् । ह्यारीले भने यो निर्णय मेघनले नभई आफूले गरेको बताएका छन् ।

‘मेरी श्रीमती र मैले शाही पद छोड्ने निर्णय मैले गरेको हुँ । मैले यसलाई हल्काफुल्का ढंगले गरेको होइन’, उनले भने, ‘कैयौं वर्षदेखिका चुनौती र कयौं कुराकानीपछि निर्णय लिइएको हो ।’ उनले भने, ‘मलाई सधैं यही नै ठीक हो भन्ने लागेन । मसँग योबाहेक अर्को कुनै विकल्प थिएन ।’

सम्बोधनका क्रममा उनले आफ्नी दिवंगत आमालाई पनि सम्झिएका छन् । सन् १९९७ मा उनकी आमा डायनालाई प्रेसले त्यसरी नै पछ्याएको थिए । पापाराजीबाट बच्न खोज्दा तीव्र गतिमा रहेको उनको कार दुर्घटनामा पर्‍यो र उनको निधन भयो । ‘म पनि त्यस्तै घटनाको शिकार हुन चाहन्नँ’, ह्यारीले भनेका छन् ।

Published : Wednesday, 2020 January 22, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया